सिर्सिया नदी : औद्योगिक प्रदूषणको एउटा ‘केस स्टडी’

६ चैत, वीरगञ्ज । बारा, ताजपुरका ६० वर्षीय नरेश महतोले ‘सानो छँदा सिर्सिया नदीको पानी पिउँथ्यौं’ भन्दा बालबालिका र युवा पुस्तालाई किंवदन्ती जस्तो लाग्छ । नलागोस् पनि किन ! उनीहरूले थाहा पाउँदादेखि सिर्सियामा कालो र गन्हाउने पानी बगिरहेको छ । त्यो पानी गाईवस्तुलाई समेत पिलाउन मिल्दैन । मानिसको त जीउमा पर्‍यो कि खटिरा निस्कन्छ ।
अलि मास्तिर भने सिर्सियामा कञ्चन पानी बग्छ । आसपासका बासिन्दा त्यहींको पानी पिउँछन्, घरायसी काममा प्रयोग गर्छन् । उद्योग-कारखानाको लापरबाहीले गर्दा नै केही किलोमिटर दूरीमै नदीको शुद्धतामा आकाश-पाताल फरक भएको हो ।

उद्योग-कारखानाबाट निस्किएको फोहोर पानी प्रशोधन नै नगरी नदीमा मिसाइएको छ । यसरी वर्षौंदेखि नदी प्रदूषण भइरहँदा न नियमनकारी निकायले चासो दिएका छन्, न त उद्योगहरूलाई जिम्मेवार बन्नुपर्छ भन्ने चेत नै पलाएको छ ।
सिर्सिया नदी बाह्रैमास बग्छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-३ स्थित रामवन झाडीमा यसको मुहान छ । परवानीपुरको दक्षिणमा कियासुत नदी यसमा मिसिन्छ । वौद्यी खोला यसमै विलय हुन्छ । तर, वीरगञ्ज नपुग्दै औद्योगिक प्रदूषणको चपेटामा पर्छ ।

मध्य तराईका सिमरा, जीतपुर, नितनपुर, छातापिपरा, परवानीपुर र वीरगञ्ज क्षेत्रमा उद्योग-कारखाना बाक्लिएसँगै सिर्सिया प्रदूषित हुने मात्रा चुलिंदै गएको हो । यस क्षेत्रमा आठ दशकअघिदेखि नै उद्योग खुल्न थालेको इतिहास छ । उद्योगहरूले नदी कालै बनाउने गरी फोहोर फाल्न थालेको भने २०३५ सालयता मात्रै हो ।
सिर्सियामा सफा पानी बग्दासम्म ‘कात्तिक नहान’ पर्व मनाइन्थ्यो ।अहिले नदी आसपास बसोबास गर्ने पुस्तालाई पनि ‘कात्तिक नहान’ भनेको के हो, थाहै छैन ।

वीरगञ्ज पथलैया क्षेत्रमा चार दशकयता उद्योग खुल्ने क्रम हृवात्तै बढ्यो । यस क्षेत्रमा साना, मझौला र ठूला गरी दुई हजार हाराहारीमा उद्योग-कारखाना छन् । प्रायः सबैले उत्सर्जित ठोस वा तरल फोहोरमैलाको उचित व्यवस्थापनमा ध्यान दिएका छैनन् । कतिपयले खुलेआम त अन्यले नदेखिने गरी भूमिगत नालाबाट सिर्सिया नदीमा फोहोर पानी पठाउँछन् ।

नदीको प्रदूषणले सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदिना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँव, बेहरा, बलुवा, सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगर क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित छन् । पानी प्रदूषित भएका कारण नदीमा जलचर पाइँदैनन् । ‘धमिलिएपछि नदी र किनारमा माछा, भ्यागुता, सर्प देखा पर्न छाडेका छन्’, भवानीपुरका अमजद मियाँले भने ।

नारायणी अस्पतालका छाला रोग विशेषज्ञ डा. अतुलेश चौरसिया सिर्सियाको पानीको नियमित सम्पर्कमा रहने व्यक्तिमा क्यान्सरसम्मको जोखिम रहेको बताउँछन् । नदी किनारा क्षेत्रका बासिन्दामा छालाको संक्रमण, दम, खोकी जस्ता स्वास्थ्य समस्या देखिएको जानकारी दिंदै उनले यसको मुख्य कारण नदी प्रदूषण नै रहेको बताए ।

सबैया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष लखनलाल साहले सानो छँदा ‘जडीबुटी मिसिएको पानी नदीमा बग्छ, यो पिउँदा पेटको रोग, घाउ-खटिरा निको हुन्छ’ भनेर सिर्सियाको पानी पिउने गरेको सम्झिँदै भने, ‘अहिले पिउने त परको कुरा छोयो भने पनि घाउ-खटिरा निस्कन्छ ।’
सिर्सिया नदीको प्रदूषणबाट छिमेकी भारतका रक्सौलवासी पनि आजित छन् । त्यहाँ ‘सरिसवा नदी बचाओ’ अभियान नै चलाइएको छ । अभियानका संयोजक डा.अनिल सिन्हा भन्छन्, ‘नदी प्रदूषणले आसपासका बासिन्दा धेरैखाले रोगबाट सताइएका छन् । प्रदूषण रोकथामका लागि दबाब दिइरहेका छौं तर प्रभावकारी हुनसकेको छैन ।’