अख्तियारको स्टिङअप्रेशन, घूस लिँदालिँदै कामपा ३० का सचिव पोखरेल रंगेहात पक्राउ

काठमाडौं । चार लाख रुपैयाँ घूस लिँदालिँदै काठमाडौं महानगर ३० वडाका सचिवलाई केही बेर अघि पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा कार्यालय सचिव भरत कुमार पोखरेललाई रंगेहात पक्रेको हो ।

वडाको काम गरेका एक ठेकेदारको भुक्तानी रोकेर सचिव पोखरेलले घूस मागेको सूचना अख्तियारले पाएको थियो । ती ठेकेदारले बताए अनुसार काम गरेको भुक्तानी माग्दामाग्दा हैरान भएपछि अख्तियारलाई सूचना दिइएको हो । ठेकेदार निकट एक व्यक्तिका अनुसार वडाका पदाधिकारी सबैले मिलेर घूस खान खोजेका थिए ।

घूस नदिई भुक्तानी नपाइने भएपछि अख्तियारको शरणमा पुगेको ठेकेदार निकट ती व्यक्तिले सनराइज खबरलाई जानकारी दिए ।अख्तियारको स्टिङ अप्रेशन टिम वडा कार्यालय पुग्दा सचिव पोखरेलले चार लाख रुपैयाँ दराजमा राखिसक्नुभएको थियो । पोखरेलले आफ्नो दराजमा रकम नराखेर इन्जिनियरको दराजमा राख्नुभएको थियो ।

सचिव पोखरेलले लिनुभएको चार लाख रुपैयाँका प्रत्येक नोट अख्तियारले फोटोकपी गरेको थियो । रकम बरामद भएपछि पोखरेलले सो रकम घूसको होइन भनी दावी गर्नुभएको थियो । तर, अख्तियारको टोलीले नोटको फोटोकपी नै अगाडि राखिदिएपछि पोखरेल स्तब्ध हुनुभएको थियो ।

वडा कार्यालय ज्ञानेश्वरबाट अख्तियारको केन्द्रीय कार्यालय डेढ किलोमिटरको दूरीमा छ । अहिले वडा कार्यालयमा घूस प्रकरणको मुचुल्का उठाउने काम भइरहेको छ । वडा ३० का अध्यक्ष दलबहादुर कार्की हुनुहुन्छ । घूस लेनदेनका बेला उहाँ वडा कार्यालयमै हुनुहुन्थ्यो । सञ्चारकर्मीहरुसँग उहाँले प्रतिक्रिया दिन मानिरहनुभएको छैन ।