यी हुन् एमाले संसदीय बोर्डका २४ सांसद, खनाल-नेपाल पनि सदस्यमा चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बोर्ड गठन गरिएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले २४ सदस्यीय बोर्ड गठन गरिएको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।

लामो समयसम्म एमालेको संसदीय बोर्ड नभएकोले आजको बैठकले २४ जना सदस्य रहनेगरी बोर्ड गठन गरिएको सांसद तामाङले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ जना सांसदहरुको सदस्यहरु रहेका छन् । जसमा प्रधानमन्त्री केपी शर्मा ओली, संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ, संसदीय दलको प्रमुख सचेतक विशाल भट्टराई र शान्ता चौधरी पदेन सदस्य रहेका छन् । त्यस्तै झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, विमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुविर महासेठ, नारदमुनी राना, मोहन बानिया, उपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र विमला धिताल सहितको २४ सदस्यीय बोर्ड गठन गरिएको हो

त्यस्तै आजको बैठकले एमालेको विधान संशोधन गर्नका लागि कार्यदल गठन गरेको छ । पार्टी एकिकरणपश्चात अर्कै विधान भएको र एमाले पूर्ववत् रुपमा फर्किएपछि छुट्टै विधान बनाउनु पर्ने भएकाले विधान संशोधन कमिटी बनाइएको हो ।

‘पार्टी एकिकरण पछि पश्चात अर्कै विधानमा चलिरहेको हुनाले अहिले नेकपा एमाले भैसकेपछि नेकपा एमाले संसदीय दलको विधान पुनः हामीले संशोधन गर्नुपर्नेछ । त्यो विद्यान हामीले २०७६ सालमा बनाइएको र त्यो विधान संशोधनका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा प्रतिनिधि सभाबाट शेरबहादुर तामाङ र राष्ट्रिय सभाबाट विमला पौडेल सदस्य रहेको विधान संशोधन कमिटी बनाइएको छ ।’ सांसद तामाङले भने ।

त्यस्तै उक्त कमिटीले ७ गतेको बैठकमा विधान संशोधन प्रस्ताव तयार गरेर पेश गर्नेछ ।

आजको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल उपस्थित नभएपनि सदस्यमा नाम समावेश गरिएको छ ।