माधव नेपाल समूहको निर्णय भीम रावलले उल्टाइ दिएपछि उथलपुथल

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा सहभागीताका लागि गएका माधवकुमार नेपाल पक्षका सांसदहरु बाटोबाटै फर्किएका छन् ।

नेपाल पक्षका सांसदहरुको सानेपास्थित हेरिटेज गार्डेनमा बसेको बैठकमा बालुवाटार जानेबारे छलफल भएको थियो । स्थायी कमिटी सदस्य योगेश भट्टराईलगायत केहीले प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी हुनुपर्ने तर्क राखेका थिए । सोही अनुसार एमाले स्थायी कमिटीमा रहेका भन्दा बाहेकका सांसदहरु तथा समिति सभापतिहरु जाने सहमति भयो।

सोही अनुसार, गणेश पहाडी, उदया शर्मा पौडेल, कृष्णभक्त पोखरेल, दीपकप्रकाश भट्ट, कृष्णलाल महर्जन लगायतका केही सांसदहरु बालुवाटार जान निस्किएका थिए। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेका लागि बोलाइएको थियो।

बालुवाटारमा जाने विषयमा मतमतान्तर चलिरहेकै थियो। कतिपय सांसद्ले बैठकमा नेतृत्वको मात्रै होइन, अन्य सांसद्को पनि अडान हुने र त्यसको पनि अर्थ हुने भएकाले बालुवाटारको बैठकमा सहभागी हुन नहुने तर्क राखिरहेका थिए।

त्यसपछि भीम रावलले बालुवाटार जान नहुने विषयमा अडान राखेका थिए। उनी कडा रुपमा प्रस्तुत भएपछि अगाडिको निर्णय उल्टिएको एक सांसदले बताए। त्यसपछि बालुवाटार जान सानेपाबाट निस्किएका सांसद्हरुलाई फर्काइएको थियो।

यसरी बालुवाटार जान निस्किएका सांसद्हरुलाई अचानक फर्काइनुको बिशेष अर्थ रहेको र छिट्टै बाहिर आउने चर्चा चलेको छ ।