ससुरालीबाट चोरेर भागेका सन्तोषले आफैँलाई बचाउने श्रीमती नै मारे

महिला समूहको किस्ता तिरेर आउँछु भनेर सन्तोषी श्रेष्ठ जोरपाटीस्थित माइतीबाट सोमबार बिहान सबेरै हिँडेकी थिइन्।
तर साँझ अबेरसम्म फर्किनन्। उनको मोबाइल पनि अफ थियो।

छोरी सन्तोषीसँग दिनभर सम्पर्क नभएपछि आमा दिलमायाले ज्वाइँ सन्तोषका भाइ तेजबहादुर सापकोटालाई फोन गरिन्। उनी गौशालामा रहेको फर्निचर कारखानामा काम गर्न गएका थिए।
दिलमायाको फोनपछि तेजबहादुर तत्कालै घर आए। बल्खुको सुकुम्बासी बस्तीस्थित छाप्रोमा पुगेर हेरे। दाइ बाहिरै भेटिए तर भाउजूलाई देखेनन्। घरभित्र खोज्नथाले। ओछ्यान छरपस्ट थियो। तन्ना र सिरकमा रगत लतपतिएको देखे।

भाउजू खोज्दै बाहिर–भित्र गर्दैगर्दा बाहिर ढोकाको छेवैमा एउटा बोरा थियो, त्यहाँ हेरे। बोरा हल्लाए, त्यहाँ भाउजूको खुट्टा देखियो। त्यसपछि उनले छिमेकीलाई खबर गरे।
छिमेकीले बल्खु बिटमा प्रहरीलाई फोन गरिदिए । प्रहरी घटनास्थलमा पुग्दा सोमबार साँझ परिसकेको थियो। भाइ आएको थाहा पाउनासाथ सन्तोष भने फरार भएछन्।

प्रहरीले जोरपाटीस्थित माइतीलाई खबर गरिदियो। सबैले सन्तोषीको हत्या उनका श्रीमान सन्तोष सापकोटाले नै गरेको आशंका गरे। प्रहरीले सन्तोषलाई खोज्न थाल्यो। त्यो दिनदेखि बेपत्ता उनी मंगलबार साँझ बल्खुको फलफूलबजार नजिकै उनी फेला परे।
मंगलबार श्रीमती हत्याको अभियोगमा काठमाडौं प्रहरी परिसरले उनलाई सार्वजनिक गर्‍यो। त्यससँगै हत्याका केही रहस्य खुलेका छन्।

सन्ताेषलाई सार्वजनिक गर्दै प्रहरी ।
सन्तोषले ढाँटेर गरेका थिए विवाह
उनीहरुले प्रेम विवाह भएको १४ वर्ष भइसकेको छ। विवाह गर्नु पहिलेसम्म सन्तोषले बल्खुमा घर छ, फर्निचर कारखाना पनि छ भनेका थिए। तर उनले विवाह गरेपछि सुकुम्बासीको छाप्रोमा भित्र्याए।
अन्तर्जातीय प्रेम विवाह गरेकी सन्तोषीले माइतीमा यस्तो दयनीय अवस्था सुनाइनन्। दुःख लुकाएरै बसिरहेकी थिइन्।

सन्तोषका बुबा र भाइ फर्निचरको काम गर्छन्। सन्तोष राम्रो आर्टिस्ट हुन्। घर सम्पत्ति उनीहरुको बीचमा बाधक थिएन। सन्तोषीले सहेरै सन्तोषसँग जीवन घिसार्दै थिइन्।
तर सन्तोषको आनीबानी पनि राम्रो भएन। उनी लागूऔषध खान थाले। घरमा बचत त के खर्च नै धौधौ हुन्थ्यो। आफ्नो कमाइभन्दा पनि उनीहरुलाई माइतीको भर बढी हुनथाल्यो।
दिलकुमारीले छोरीका हत्यारा सार्वजनिकस्थलमै काठमाडौं परिसरमा भनिन्, ‘मैले त ज्वाइँ भनेर राम्रोसँग राखेको थिएँ तर मेरो सर्वस्व सिध्यायो।’

सन्ताेषीका आमाबुबा र आफन्त प्रहरी परिसर काठमाडौंमा।
दिलमायाका दुई छोरी अमेरिकामै छन्। दुःख पाएकी सन्तोषीले मात्रै हो। लकडाउनपछि घर चलाउन समस्या भएपछि छोरी ज्वाइँ र नातिलाई लगेर उनीहरुले जोरपार्टीस्थित आफ्नै घरमा राखेका थिए।

सन्तोष र सन्तोषीका १० वर्षका छोरा छन्।
लकडाउनको समयमा सन्तोष ससुरालीमै बसे। तर लागूऔषधका दुव्र्यसनी सन्तोषलाई पैसा चाहिरहने। एक वर्ष ससुराली बसेका सन्तोषले एक महिनापहिले भने जेठीसासूको ब्यागबाट पैसा चोरे।
ज्वाइँले चोरे पनि सन्तोषीले दिदीलाई भनिन्। उनीविरुद्ध बौद्ध वृत्तमा अझै मुद्दा छ। तर सन्तोषीले ज्वाइँविरुद्ध मुद्दा नगर्न दिदीलाई भनिन्। त्यसपछि भने सन्तोषको ससुराली जाने बाटो पनि टुट्यो। अनि, सन्तोष घर फर्किएका थिए।

श्रीमानको आनीबानीले हैरान हुनथालेपछि सन्तोषी अलग्गै बस्न चाहन्थिन्। पछिल्लो समय उनले सन्तोषसँग डिभोर्स नै मागिरहेकी थिइन्। तर सन्तोष मानिरहेका थिएनन्। सन्तोषको आनीबानी र सन्तोषीले डिभोर्स मागेपछि उनीहरुको सम्बन्ध बिग्रिरहेको थियो। दुव्र्यसनमा फसेका सन्तोषसँग रातदिन कुटपिट सहेर नबस्ने स्थितिमा सन्तोषी पुगेकी थिइन्। त्यही भएर उनी माइतीमै थिइन्।

पहिले घरमै हुँदा सन्तोषीले सानेपामा महिला समूहबाट ऋण लिएकी थिइन्। त्यसको किस्ता तिर्न हरेक महिनाको २ गते सन्तोषी घर जान्थिन्। त्यो दिन पनि सन्तोषी आउँछिन् भन्ने सन्तोषलाई थाहा थियो।
तर उनले मार्ने योजना नै बनाएको भने सन्तोषीलाई सुइँको थिएन। त्यसैले पनि उनी सम्बन्ध बिग्रिएका श्रीमान भएका ठाउँमा पुगेकी थिइन्।

मारिएकी सन्ताेषी।
शव मिल्काउन नपाउँदै पुगे भाइ
त्यो दिनभर घरमा सन्तोष मात्रै थिए। बुबा भक्तपुर र भाइ गौशालामा फर्निचरको काम गर्न गइसकेका थिए। प्रहरीलाई बताएअनुसार सन्तोषी घरमा पुगेको केही समयमै सन्तोषले टाउकोपछाडि हम्मरले हानेर हत्या गरे। त्यसपछि उनले डोरीले बाँधेर शव तन्नामा पोको पारे अनि बोरामा हाले। सन्तोषीका जुत्ता भने खोलापारि मिल्काइदिए।

दिनभर मान्छेको चहलपहलका कारण उनले शव व्यवस्थापन गर्न सकेका थिएनन्। एउटा ट्याक्सीलाई सामान कीर्तिपुरसम्म लैजानु छ भनेका थिए। तर ट्याक्सी चालक काममा छु भनेर जान मानेनन्।
साँझ बुबा र भाइ कामबाट फर्किने भएकाले उनले शव व्यवस्थापन गरिसक्नुपर्ने थियो। बुबा र भाइलाई फोन गरेर कहाँ छन् भनेर बुझे। उनीहरु नआउँदै शव खोलामा फाल्न वा ट्याक्सीमा हालेर बाहिर लैजान चाहे पनि वातावरण बनिरहेको थिएन।

उनले उचित मौका कुर्दाकुर्दै भाइ पुगे। सासूले छोरीको फोन अफ छ भनिसकेपछि भाइ अतालिँदै घर आएका थिए। उनलाई थाहा थियो– सन्तोषले पहिले पनि कुटपिट गर्ने र बाँधेर राख्ने गर्थे। यस पटक पनि त्यसै गरेको होला भनेर उनी अतालिँदै आएका थिए। भाउजूलाई मारेर बोरामा हालेको अवस्थामा फेला पारे।
श्रीमतीको आइफोन, सुनको मुन्द्रा, सुनको बाला, लकेट र २३ हजार रुपैयाँ लिएर सन्तोष फरार भए। सन्तोषले श्रीमतीको हत्या गरेर सुन र नगद लगिसकेका थिए।

सन्तोष सोमबार राति सातदोबाटोस्थित साथीको घरमा पुगेछन्। मंगलबार फेरि उनी बल्खु नै फर्किए। प्रहरी उनलाई खोजिरहेको थियो।
उनी भने लागूऔषधको खोजीमा लागेछन्। त्यही अवस्थामा बल्खुबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट चार दिन म्याद लिएर अनुसन्धान अगाडि बढाइएको
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए।
सन्तोषीको भने माइतीले बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरेका छन्।