महामारीका बीच हुन लागेको हिमाल आरोहणमा यो वर्ष नयाँ के छ ?

४ चैत, काठमाडौं । सन् २०१९ मा सगरमाथा आरोहणका दौरान चुचुरो पुग्ने समयमा अधिक भिड लागेको फोटो संसारभर प्रचार भयो । सोही वर्ष सगरमाथामा १५ जनाको मृत्यु भयो ।

यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत भ्रमणका दौरान बिबिसीमा स्पष्टिकरण नै दिनु पर्‍यो । सन् २०२० मा कोरोना महामारीका कारण हिमाल आरोहण बन्द भयो । सरकारले ११ चैत २०७६ देखि देशव्यापी लकडाउन सुरु भएपछि आरोहणका सबै योजना रद्द भए ।

सरकारले यो वर्ष शरद ऋतुदेखि भने आरोहण खुला गर्‍यो । बहराइनका राजकुमारदेखि कतारका राजकुमारसम्म नेपाल आएर उक्त ऋतुमा नेपालका हिमाल चढे । यसले नेपाल महामारीमा पनि सुरक्षित गन्तब्य हो भन्ने सन्देश प्रवाह गरेको सरकारी अधिकारहरुको निष्कर्ष छ ।

पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार शरद ऋतुमा भएको आरोहण गतिविधिले वसन्त ऋतुका लागि हौसला थप्ने काम गरेको थियो । सोहीकारण जारी सिजनमा कम्तिमा ८ हजार मिटरभन्दा अग्ला सबैजसो हिमालमा आरोही आउने सम्भावना छ ।