आफैँ परीक्षण गर्न सकिन्छ पाठेघरको क्यान्सर

काठमाडौं- महिलाले लाजकै कारण पाठेघरको मुखको क्यान्सरबाट समस्या भोग्नु नपर्ने भएको छ । धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा.सुनिला शाक्यले लाज मान्ने कारण धेरै महिलाले जाँच नै नगराउने गरेको चर्चा गर्दै भने,“आफैँ जाँच गरी क्यान्सरको पूर्वावस्था पत्ता लगाउन सकिने भएको छ ।

धुलिखेल अस्पतालले तीन महिनाअघि (डिसेम्बर)देखि शुरु गरेको ‘सेल्फ स्याम्पलिङ केयर एचपीभी किट’ हालसम्म १५० महिलाले प्रयोग गरिसकेको जानकारी दिए । धुलिखेल वरपरका महिला यो विधि अपनाउन इच्छुक छन् वा छैनन् भनेर सर्वेक्षण गरेपछि मात्र सो किट वितरण गरेको र प्रयोग गर्न पाएपछि सबै खुसी भएको प्रतिक्रिया डा. शाक्यले दिए ।

पाठेघरको मुखको क्यान्सर एचपीभी डीएनए टेस्ट, भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड (भीआईए) तथा प्यापस्मियर टेस्ट गरी तीन तरिकाले परीक्षण गर्न सकिने जानकारी उनले जानकारी दिए । यो सबै डाक्टरले नै गर्नुपर्ने कारण धेरै महिला लाज मान्ने तथा हिच्किचाउने गरेको पाइन्छ । ‘सेल्फ स्याम्पलिङ केयर एचपीभी किट’ प्रयोग गरी महिलाले आफैँ नमुना लिन सक्छन् ।

त्यही नमुना परीक्षण गरी क्यान्सर भए नभएको थाहा पाउन सकिन्छ । यो किटले ३० वर्षभन्दा माथिको उमेर समूहका महिलाको मात्र जाँच गर्न सकिन्छ । डा. शाक्यले यो किटलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले मान्यता दिइसकेको र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रयोग गर्न अनुमति दिइसकेको बताए । गोरखापत्रमा खबर छ ।