झलनाथ खनालको आरोप- ‘ओलीले आफ्ना आसेपासे र धुपौरेहरुलाई मात्रै पोस्ने काम गरे’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आसेपासे र धुपौरेहरुलाई मात्रै पोस्ने गरेको आरोप लगाएका छन् ।

एमाले नेपाल-खनाल पक्षले ललितपुरको सानेपा हाईटस्थित होटेल हेरिटेजमा गरेको कार्यकर्ता भेलाको शुभारम्भ गर्दै नेता खनालले त्यस्तो आरोप लगाएका हुन् ।

भेलालाई सम्बोधन गर्दै नेता खनालले भने- ‘केपी ओलीले पहिलो क्याबिनेटमा एकलौटी ढंगले निर्णय गर्नुभयो । तीन वटा नीति कार्यक्रमहरु आए त्यसमा पार्टीका कार्यक्रमहरु आएनन् । तीन तीन वटा बजेटहरु आए त्यसमा पार्टीका लागि कुनै कार्यक्रमहरु आएनन् । निर्वाचनको घोषणापत्रहरुलाई केपी ओली सरकारले लागू गर्न सकेन । केपी ओलीले तीन वर्षमा आफ्ना आसेपासे धुपौरेहरुलाई मात्रै पोस्ने काम गर्नुभयो ।’

त्यस्तै अध्यक्ष ओलीले पार्टीभित्र मनपरी तन्त्र गरेको आरोप समेत लगाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपालाई फुटको दिशातर्फ लगेको भन्दै आलोचना गरेका छन् ।

‘ओलीकै कारण तीन बर्षमा पनि एकताले पूर्णता पाएन । उहाँले पार्टीमा मनपरी तन्त्र गर्नुभयो । उहाँले मनपरी तन्त्र गरेर पार्टीलाई फुटको दिशातर्फ लैजानुभयो ।’ उनले भने ।

त्यस्तै ओलीले तीन वर्ष पार्टीभित्र हालिमुहाली गरेका कारण आफूहरु सहेर बस्न बाध्य भएको समेत बताए ।

नेता खनालले ओलीले गत फागुन २८ गते गरेको निर्णयहरु पार्टीको विधान विपरित रहेको दाबी गरको छन् । ‘ओली गुटले बालुवाटर बैठकमा गरेको २८ गतेको निर्णय विधान विपरित छ ‘ ।