६ घण्टा सुत्छन् विश्वका सबैभन्दा धनी मध्येका एलन मस्क

मानव स्वास्थ्यमा निद्रालाई अत्यन्तै महत्वपूर्ण रुपमा लिइन्छ । कतिपयले जीवनमा सफल हुनका लागि कम सुतेर धेरै काम गर्नुपर्ने धारणा राख्छन् । निद्रा क्रान्ति नामको पुस्तककी लेखिका एरियाना हफिंगटनले सातदेखि आठघण्टासम्म सुत्नुपर्ने सुझाव दिन्छिन् ।विश्वका धनीमध्येका एक एलन मस्कले आफू हरेकरात ६ घण्टा सुत्ने खुलासा गरेका छन् ।

जो रोगनसँगको एउटा अन्तरवार्तामा मस्कले आफ्ना कम्पनीहरुप्रति आफ्नो उत्तरदायित्व सन्तुलन गरेर हरेक रात ६ घण्टा सुत्ने बताएका हुन् ।टेस्ला र स्पेस एक्सका सीईओ मस्कले आफू राती १ देखि २ बजेसम्म काम गर्ने र त्यसपछि झण्डै ६ घण्टा सुत्ने खुलासा गरेका हुन् ।

आफूले कम घण्टा सुत्ने प्रयास गरेको तर त्यसो गर्दा कुल उत्पादनशीलता घट्ने भएकाले प्रयाप्त निद्रा आवश्यक रहेको उनले बताएका छन् ।कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले प्रकाशित गरेको मेडिकल जर्नलमा उल्लेख थियो ।

अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पाइएको पनि बताएका थिए ।सुताई नपुगेका मानिसहरुमा आउने नकारात्मक सोचाईका कारण ध्यान एकत्रित गर्न पनि गाह्रो हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।

अनियमित सुताई भएकाहरुमा नकारात्मक सोँचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर असर समेत पर्ने गरेको पाइएको छ ।अनुसन्धान टोलीका एकजना सदस्य जाकोब नोटाले नकारात्मक सोँचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने खतरा देखिएको बताएका थिए ।