ओलीको चियापानमा पुगे माधव नेपाल पक्षका चार सांसद र एक केन्द्रीय सदस्य

काठमाडौं, चैत ३ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आयोजना गर्नुभएको चियापान कार्यक्रम बहिष्कार गरेपनि माधव नेपाल पक्षका केही नेता उपस्थित भएका छन् । बरिष्ठ नेता नेपालले प्रचण्डको निर्देशनअनुसार अध्यक्षले आयोजना गर्नुभएको चियापान बहिष्कार गरेपछि सो कदमप्रति असहमति जनाउदै नेपालको पक्षमा रहेका नेता तथा सांसदहरु बालुवाटार पुगेका हुन ।

प्रधानमन्त्री ओलीले आज केन्द्रीय सदस्य र सांसदहरूका लागि चियापान आयोजना गर्नुभएको थियो । ओलीले आयोजना गर्नुभएको चियापानमा नजान प्रचण्डले निर्देशन दिएपछि नेपाल समुहले बहिष्कार गरेको थियो । तर माधव पक्षमा खुलेका सांसदहरू गोपाल बम, नजमा खातुन, माया ज्ञवाली, समिना हुसेन, गंगा चौधरी ‘सत्गौवा’ र केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ बालुवाटार पुग्नुभएको हो ।

उहाँहरुले पार्टी अध्यक्षले आयोजना गरेको चियापान बहिष्कार गरी माओवादीको इसारामा चल्ने काम स्वीकार्य नभएको सहभागी सांसदहरुसँग बताउनु भएको छ । आज चियापानमा सहभागी हुने नेताहरुमध्ये प्रधानमन्त्रीविरुद्ध प्रचण्ड–माधव पक्षले दर्ता गरेको अविश्वास प्रस्तावमा बम, हुसेन र ज्ञवालीले हस्ताक्षर गर्नुभएको थियो । उहाँहरु आजबाट पार्टी मुलधारमै रहेको घोषणासहित चियापानमा सहभागी हुनुभएको हो ।