काठमाडौंमा फिल्मी शैलीमा चोरियो स्कुटरको डिक्कीबाट २८ लाख

काठमाडौं, ३ चैत । काठमाडौंमा स्कुटरको डिक्कीबाट २८ लाख ५० हजार रुपैयाँ चोरी भएको छ । काठमाडौं नागार्जुन नगरपालिका–१ घर भएका ५२ वर्षीय नवराज अधिकारीको बा.६० प ९३०४ नम्बरको स्कुटरको डिक्कीमा चोरी भएको छ ।

उनले विभिन्न बैंकबाट सो रकम निकालिएको थियो ।डिक्कीमा राखी कामको सिलसिलामा चक्रपथ, सोह्रखुट्टे, असन हुँदै समाखुसीस्थित साथीको घरमा गई डिक्की खोली हेर्दा रकम चोरी भएको थाहा हुन आएको पीडितले बताएका छन् ।
प्रारम्भिक अनुसन्धानमा घटना नाटकीय रहेको प्रहरीले जनाएको छ ।

उता, काठमाडौं महानगरपालिका–७ चावहिल डेरा गरी बस्ने बारा जितपुर सिमरा घर भएका ४५ वर्षीय सुरेश पन्तको कोठाबाट दराज फुटाई करिब ४ लाख ९५ हजार ५ सय रूपैयाँ मूल्य बराबरका सुनका विभिन्न गरगहना सोमबार दिउँसो चोरी भएको छ ।-दृष्टिबाट