हराउँदैछन हाम्रो घर आँगनमा खेल्ने भँगेरा !

मान्छेका घर आँगनमा देखिने भँगेराका झुण्ड हिजो-आज देख्न मुश्किल पर्ने गरेको छ। विहान–बेलुका चारो खान होस् वा घर वरीपरि चिरबिर गर्दै यताउता गरिरहने चरा भँगेरो घट्दै गएको महशुस धेरैले गरेका छन्। ‘पहिले–पहिले आँगनभरी भँगेरा चारो खान आउँथे, ललितपुर गोदावरी नगरपालिका–४ की ७२ वर्षीया काली आचार्यले पुराना दिन सम्झँदै भनिन्, ‘हामी आँगनमा चामल केलाएर बाँकी रहेका कनिका छर्थ्याैं, त्यसपछि भँगेरा आँगनभरी हुन्थे।’

Ads by AdMana.net
बासस्थानको अभावले गर्दा पनि भँगेराको संख्या घटेको कतिपयको अनुमान छ ।
‘विशेषगरी मानिसको घरका खटप्वाल तथा अन्य त्यस्तै सुरक्षित प्वालमा गुँड बनाई बस्ने गरेको भँगेरा पछिल्लो समय मानिसले बनाएका घरका स्वरुप परिवर्तन हुनाले पनि घटेका छन्।’ ललितपुरको गोदावरी-५ का ९५ वर्षीय भुना सिलवालले भने, ‘पहिले–पहिले घरहरुमा खटप्वाल तथा अन्य प्वालहरू हुन्थे तर अहिले सिमेन्टका घरमा त्यस्ता केहि देखिन्न।

नेपाल पन्छी संरक्षण संघका अनुसार काठमाडौं उपत्यकामा भँगेरोलगायतका केही चराको संख्या घटेको छ । ‘भँगेरालगायत केही चराको संख्या घट्दै गएको छ, संघका संरक्षण अधिकृत कृष्ण भुषालले भने, ‘पुराना घर र मठ–मन्दिरमा मात्र अहिले देख्न पाइन्छ ।’यस्ता ठाँउमा देखिनुको कारण नै तिनीहरुको बासस्थान हो ।

‘पहिलेका घरहरुभन्दा अहिलेका घरहरुमा प्वाल राखिँदैन, यी घरहरु सिमेन्टेड छन्’ उनले थपे, घरहरुमा अन्नपात हुन्थे, बिस्कुन सुकाइन्थ्यो, करेसाबारी हुन्थ्यो, त्यहाँ भँगेरो चर्न पाउँथ्यो।’चराविद् हेमसागर वरालका अनुसार बढ्दो शहरीकरणले गर्दा भँगेरोलगायतका चरालाई गुँड बनाउन र खानेकुराको बन्दोबस्त गर्न समस्या हुने गरेको छ। बस्नका लागि ठाउँ नहुँदा बच्चा कोरल्न पनि समस्या रहेको उनले सुनाए।

‘अहिलेका घर पक्की हुन्छन्, जग्गा पनि प्लटिङ गरिएका छन् जसले गर्दा अन्न उब्जाउ घटेको छ’, उनले भने, ‘आँगन र करेसाबारी पनि कमै मात्र भेटिन्छन् , अलिअलि रुख हुन्थे, अहिले न रुख छन्, न त करेसाबारी नै। गाउँघरमा विषादी नहाली खेती हुनै छाड्यो ।’ चराको अध्ययनमा काम गरिसकेका हेम कटुवालले भने ।

केही समयअघि पन्छी संरक्षण संघले गरेको गणनाअनुसार उपत्यकामा जाडो समयमा एक हजार ३३ वटा र गर्मी समयमा १२ सय ९४ वटा घरमा बस्ने भँगेरा पाइएको थियो। यसैगरी जाडोमा १ सय ७७ वटा र गर्मीमा २ सय ४९ वटा रुखमा बस्ने भँगेरा पाइएको थियो । शहरी क्षेत्रमा यहीँ बस्ने चराहरु पनि पाइन्छन् ।

केही चराहरु बाहिरबाट पनि आउँछन् । कोइली, चील, भँगेरा, मैना र काग चराहरूको अवस्था घट्दै गइरहेको छ । यहाँ भएको अव्यवस्थित बसोवासले भँगेरा चरालाई धेरै असर गरेको छ । बासस्थानको समस्या त छँदैछ भँगेरा हराउँदै जानुको अर्को कारण वातावरण प्रदुषण पनि हो। संघले काठमाडाैं उपत्यकामा गरेको चरा अवलोकनका क्रममा भँगेराको संख्या घटेको पाइए पनि संख्याका हिसाबमा परेवाको संख्या धेरै पाइएको छ।

संघले गोदावरी, फुल्चोकी, शिवपुरी, मच्छेगाउँमा चरा अवलोकन गरिरहेको छ । उपत्यकाका शहरी भेगमा पछिल्लो समयमा चरा संरक्षणप्रति मोह बढेको छ । चरा संरक्षणमा कार्यरत हेम कटुवाल विस्तारै शहरी भेगमा चराप्रतिको मोह बढ्दै गएको बताउँछन् ।उनका अनुसार धेरैले सुगा पालेका छन् भने गौंथली घर र पसलहरूमा गुँड बनाएर बसेका छन्।