संसद्को खिचातानीले संघीय निजामती विधेयक फेरि अलपत्र

काठमाडौं । सरकार र संसद् दुवैले चासो नदिँदा मुलुकको कर्मचारी प्रशासन हाँक्ने संघीय निजामती सेवासम्बन्धी ऐन बन्न फेरि पनि ढिलाइ हुने भएको छ । संसद्मा देखिँदै आएको राजनीतिक खिचातानीले संघीय निजामती सेवा विधेयक अलपत्र अवस्थामा छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा वर्षांैदेखि अड्किएको सो विधेयकलाई अघि बढाउन समिति र सरकारी पक्ष नै उदासीन देखिएका हुन् ।

संसद्को चालू अधिवेशनमा संघीय निजामती सेवा विधेयक पेस हुने सम्भावना न्यून देखिएको छ । बढ्दो राजनीतिक अन्योलता, सांसद र राज्य व्यवस्था समितिको गैरजिम्मेवारीपनका कारण विधेयक संसद्मा पेस हुन नसक्ने अवस्था सिर्जना भएको सरकारी अधिकारीको भनाइ छ ।

समितिमा ढेड वर्षदेखि सो विधेयक छलफल हुँदै आए पनि समितिले निकास निकाल्न सकेको छैन । प्रस्तावित विधेयकमा यसअघि भइसकेका कतिपय सहमति तोड्ने प्रयास गरेपछि तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठी र संसदीय समितिबीच विवाद भएको थियो ।