२८ गतेको बैठकका निर्णय फिर्ता लिन प्रधानमन्त्रीद्वारा अस्वीकार

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको निर्णय फिर्ता लिन अस्वीकार गर्नुभएको छ । नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच धुम्बाराहीमा भएको पहिलो वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरू फिर्ता लिनुपर्ने अडान राखेका थिए । प्रधानमन्त्रीले भने नेपाल पक्षको निर्णय अस्वीकार गरेका हुन् ।
ओली र नेपाल पक्षबीच चार महिनापछि छलफल भएको हो । छलफलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य सुवाचन्द्र नेम्वाङ तथा नेपाल पक्षबाट माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, धनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट उपस्थित हुनुहुन्थ्यो ।