संसदीय दलका नेता नै एमालेमा प्रवेस गरेपछि प्रदेश १ मा माओवादीको विजोग

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी अहिले अर्कैको भै सकेको छ । यस्तो अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुन अस्तित्वमा आएका छन् । तर यसको सबैभन्दा ठूलो घाटा भने माओवादीले ब्यहोरेको छ । उक्त पार्टीमा देशभरीबाट संघीय र प्रदेश गरी १३ सांसदले नेकपा एमालेमै रहने निर्णय गरिसकेका छन् ।

यस्तै समस्या प्रदेश १ को माओवादी केन्द्रमा देखिएको छ । त्यहाँ प्रदेशसभा संसदीय दलका नेता टंक आङबुहाङ एमाले प्रवेश गरेका छन् । त्यसपछि माओवादी केन्द्र प्रदेश १ संसदीय दल नेताविहीन भएको छ ।

आङबुहाङ शुक्रबार एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । उनी यता आएसँगै माओवादी केन्‍द्र दलको नेताविहीन भएको हो । १६ सदस्यीय संसदीय दलका नेता आङबुहाङ एमालेमा गएसँगै प्रदेशसभामा माओवादी केन्द्रको १५ सिट भएको छ । यता माओवादी केन्‍द्रले भने छिट्टै दलको नेता छान्‍ने जनाएको छ ।

‘चाँडै संसदीय दलको नेता छान्छौ,’ माओवादी नेता इन्द्रबहादुर आङबोले भने,‘ आइतबार बसेकोकेन्द्रीय समितिको बैठकले यसबारेमा पनि ठोस निर्णय गर्ने भनिएपनि त्यस्तो केही निर्णय सार्वजनिक भएको छैन ।’

ताप्लेजुङ ‘ख’ बाट निर्वाचित आङबुहाङ २०५६ सालबाट माओवादीको पूर्णकालीन सदस्य बनेका थिए । सानै उमेरमा राजनीतिमा लागेका आङबुहाङ माओवादी केन्द्रको सचिवालय सदस्य थिए। तर, उनले पछिल्लो राजनितिक घटना क्रमसँगै लामो समयसम्म योगदान गरेको पार्टी परित्याग गरेका हुन् ।

प्रदेश १ का अन्य जिल्लाको तुलनमा ताप्लेजुङ जिल्लामा एमालेको ओली पक्ष कमजोर छ । नेकपा एक हुँदा ताप्लेजुङका नेता योगेश भट्टराई केन्द्रमा निकै प्रभावशाली रहेका र दुवै जनाको उमेर समूह पनि एउटै भएका कारण आङबुहाङले नेकपा हुँदै ओली पक्षमा लाग्ने तयारी गरेका थिए ।

पाँचथरबाट प्रदेशसभामा निर्वाचित इन्द्रबहादुर आङबोको स्थानमा आफू सिनियर भएको र प्रदेशको मन्त्रिमण्डलमा आफ्नो नेतृत्वमा जानु पर्ने मनसाय आङबुहाङको थियो । तर, आङबो प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेदेखि नै आङबुहाङले आफूमाथि अन्याय हुँदै आएको बताउँदै आएका थिए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आङबोले नै अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि राईले आङबोलाई मन्त्री पदबाट पुस ११ गते बर्खास्त गरेका थिए । त्यसपछि ओली पक्षले आङबुहाङलाई मन्त्री बनाउने तयारी गरेको थियो । अब दलको नेता आङ्बो हुने सम्भावना छ ।