माओवादी केन्द्रीय कमिटी बैठक ११ बजे बस्दै, बादल लगायतका नेता माथि के कारबाही होला ?

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। आइतबारदेखि पेरिसडाँडामा जारी बैठक आज पनि निरन्तर रहने बताइएको छ। आइतबारदेखि सुरु भएको बैठकमा सातै प्रदेशका इन्चार्ज र अध्यक्षहरूले संगठनको अवस्थाबारे केन्द्रलाई रिर्पोटिङ गरेका थिए।

बैठकमा माओवादी केन्द्रको नाम फेर्नेदेखि एमालेमा रहने निर्णय गरेका नेताहरुलाई अनुशासनको कारबाही गर्नेसहितका अजेन्डा पेस भएका थिए। रिर्पोटिङका क्रममा अहिले तल्लो तहमा माओवादी कमजोर भएकाले अझै ध्रुवीकरण गरेर जानुपर्ने विषय उठेको छ ।

विगतमा नेकपाको नाममा संगठन अघि बढेकाले अहिले कमजोर हुनु स्वभाविक भएको भन्दै उनीहरूले माओवादीले सबैलाई जोडेर जान छलफल गर्नु पर्ने सुझाव दिएका थिए। आइतबारको केन्द्रीय कमिटी बैठकमा ६ वटा अजेण्डा पेस भएका थिए। आजको बैठकमा छलफलमा उठेका विषयमाथि सम्बन्धित नेता जवाफ दिने बताइएको छ।

यथाशक्य छिटो निष्कर्ष निकाली बैठक आजै सक्ने तयारी गरिएको एक नेताको भनाइ छ। जसमध्ये पहिलो– श्रदाञ्जलि दिने, दोस्रो– केन्द्रीय कार्यालयको तर्फबाट सम्बोधन, तेस्रो– प्रदेश कमिटीका प्रतिनिधिबाट छलफल, सुझाव र टिप्पणी, चौथो– संगठनात्मक कामका विषयमा, पाँचौं– कार्यकर्ता भेला र छैटौं विविधमा पार्टीको नाम परिवर्तन, एकता र रामवृक्ष यादवको सालिकलगायत थिए।