प्रचण्डलाई प्रधानमन्त्री दिने तयारीमा ओली

काठमाण्डौँ । अध्यादेश फिर्ता लिन नमानिरहेका प्रधानमान्त्री केपी ओलीसँग अझै मुठ भेडतर्फ जानका लागि दुईवटा विकल्प बाँकी नै थिए । एउटा- दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र पार्टी फुटाउने, त्यसपछि शेरबहादुर देउवासँग मिलेर सरकार बनाउने । वा दोस्रो- संसदीय दलबाट बहुमत गुमाउनुभन्दा बरु ‘न रहे बाँस, न बजे बाँसुरी’ भनेजसरी संसद नै विघटन गरिदिने । यसबाहेक प्रधानमन्त्री ओलीसँग अर्को बाटो थिएन, मुठभेडको राजनीतिका लागि ।

तर, यी दुबै विकल्पमा अघि बढ्नका लागि प्रधानमन्त्री ओलीसँग अब जोखिम मोल्न सक्ने सामथ्र्य सकिएको छ । किनभने, यस्तो कदममा उनले आफ्नो गुट र शीतलनिवासको समेत साथ पाउने सम्भावना कम हुँदै गएको छ । र, त्यसपछि उत्पन्न हुने विरोध र आन्दोलनको सामना गर्न सरकारलाई गाह्रो पर्ने विश्लेषण ओली समूहका नेताहरुले गरेका छन् ।

तर, यी दुईवटा कदमहरु चाल्नका लागि प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषदको अध्यादेश ल्याउँदाजस्तै गरी राष्ट्रपतिको निरपेक्ष साथ चाहिन्थ्यो । तर, शुत्रबार शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट त्यस्तो कदमका लागि साथ पाउने संकेत देखेनन् । बरु शीतलनिवासले प्रधानमन्त्री ओलीलाई प्रचण्डसँग मिलेर अघि बढ्न र उनलाई प्रधानमन्त्री दिएरै भए पनि पार्टी अध्यक्षमा कायम रहेर पार्टीको नेतृत्व सम्हाल्न सुझाएको सूत्रहरुको भनाइ छ ।

यस्तो स्थितिमा अब प्रचण्डलाई संसदीय दलको नेता बनाउने र निश्चित समयपछि प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्ने परिस्थितिमा प्रधानमन्त्री ओली आइपुगेको नेकपाको उच्च स्रोतले बतायो ।

तथापि, चतुर राजनीतिज्ञ मानिने प्रधानमन्त्री ओलीले प्रचण्डलाई सुटुक्क आफ्नो साथमा ल्याएर माधव नेपालसँगको गठबन्धन टुटाउने र प्रचण्डले आफूमाथि लगाएको आरोपपत्रहरु फिर्ता गराउने प्रयत्न जारी राखेको नेताहरु बताउँछन् ।

दुबै अध्यक्षका प्रस्ताव फिर्ता लिएर आइतबार बस्ने स्थायी कमिटीको बैठकमा साझा प्रस्ताव लैजाऔं भन्ने माग ओली पक्षका नेताहरुले गर्दै आइरहेका छन् । तर, प्रचण्डले भने एक्लै सहमति नगरी माधव नेपाल लगायतका नेताहरुसँग नि बसेर कमिटीबाटै निर्णय हुनुपर्ने अडान राख्दै आएका छन् । शनिबार खुमलटारमा भएको भेटमा पनि प्रधानमन्त्री ओली प्रस्ताव फिर्ता लिन प्रचण्डलाई आग्रह गरेर फर्केका छन् । अनलाईन खबरबाट साभार