जीवनमै पहिलोपटक जगिङका लागि गएकी थिइन्, फेरि कहिल्यै नजाने निश्चय गरिन्

लण्डनमा एक युवतीको साथमा निकै त्रासदीपूर्ण घटना भएको छ । २१ वर्षकी मेडी फर्स्टर जगिङ जान रुचाउँदिनन् । हालै उनले पहिलो पटक जगिङका लागि जाने निर्णय गरिन् । तर, त्यो जगिङ उनको लागि अन्तिम जगिङ भएको उनले बताएकी छिन् किनकि जगिङका लागि जानु उनको लागि निकै खतरनाक साबित भयो ।

मेडी बेलुकाको समयमा जगिङका लागि निस्किएकी थिइन् । उनलाई बाटोमा एक व्यक्तिले समातेर ४ पटक चक्कु प्रहार गरे । मेडी जसोतसो त्यो व्यक्तिबाट जोगिएर भागिन् । मेडीले यो घटनाबारे फेसबुकमा एक पोस्ट गर्दै जगिङमा जान चाहने अरुलाई सचेत बनाएकी छिन् । मेडीले यो आफ्नो पहिलो र अन्तिम जगिङ भएको पनि बताएकी छिन् ।

मिररको रिपोर्टअनुसार सोमरसेट पुलिसले एक वक्तव्यमा मेडीमाथि किंग्सवुडको ब्रुक रोड क्षेत्रमा आक्रमण भएको बताएको छ । पुलिसले घटनाका प्रत्यक्षदर्शीसँग यस घटनाबारे जानकारी दिन अपिल गरेको छ । बेलुकीको समय अँध्यारो भएका कारण मेडीले आक्रमणकारीको पहिचान गर्न नसकेको पनि पुलिसको वक्तव्यमा जनाइएको छ । मेडीका अनुसार आक्रमणकारीले गाढा रंगको कपडा लगाएका थिए ।