वामदेवलाई चुनावी प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी ओलीले उपाध्यक्ष वामदेव गौतमलाई फकाउने प्रयास जारी राखेका छन् । ओलीको तर्फबाट सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई चुनावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्।

आइतबार बिहान उपाध्यक्ष गौतमलाई फोन गरेर पोखरेलले अहिले रोजेको मन्त्रालय लिएर सरकारमा सहभागी हुन र चुनावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ।

स्थायी समिति बैठक अगाडि गौतमलाई आफ्नो पक्षमा तान्न प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीका तर्फबाट पोखरेलले यस्तो प्रस्ताव गरेको स्रोतले बतायो। तर गौतमले स्थायी समिति बैठकमा छलफल गरेर सबै कुराको टुंगो लगाउनुपर्ने जवाफ दिएका थिए ।