पोखराले काठमाडौंबाट पाठ सिक्नुपर्छ: मेयर शाक्य

काठमाडौं/काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको अवस्थाबाट पोखराले पाठ सिक्नु पर्ने बताएका छन्।

काठमाडौं र पोखराको चुनौती अनियन्त्रित बसाइँसराइ रहेको भन्दै शाक्यले व्यवस्थित बसोबासका योजना बनाउन पोखरा महानगरलाई सुझाव दिए।

मेयर शाक्यको टोली सोमबार पोखरा महानगरको कार्यालयमा आएका थिए। उनीहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै मेयर शाक्यले भने, ‘काठमाडौंको अहिलेको अवस्थाबाट पाठ सिकेर पोखराले व्यवस्थित बसोबासको एकिकृत बस्ती विकास गर्नुपर्छ, दुबै शहरको चुनौती नै अव्यवस्थित बसाइँसराइ हो।’

स्थानीय तहहरूबीच समन्वय र अनुभव आदान-प्रदान हुनुपर्ने बताउँदै शाक्यले लकडाउनका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पोखरा र काठमाडौंबीच सहकार्य हुनु पर्ने बताए।

उक्त अवसरमा बोल्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहने बताए। व्यवस्था परिर्वतन भए पनि सोच परिर्वतन नहुँदा काम गर्दा चुनौती आएको भन्दै उनले स्थानीय जनप्रतिनिधि बढी जिम्मेवार हुनुपर्ने उनको धारणा छ।

‘काठमाडौं र पोखराका आ-आफ्नै विशेषता छन्’, जिसीले भने,‘ काठमाडौं सांस्कृतिक सहर हो भने पोखरा प्राकृतिक रूपमा सुन्दर छ, एक अर्काबाट हामीले धेरै कुरा सिक्न र सिकाउन सक्छौं।’

अरूभन्दा काठमाडौं पाको र पुरानो महानगर भएकाले काठमाडौंले अग्रणी भूमिका खेल्नु पर्ने जिसीले बताए।

कार्यक्रममा पोखरा महानगरका मेयर जिसीले काठमाडौंका मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीलाई मायाको चिनो प्रदान गरेका थिए।

पोखराका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई मायाको चिनो प्रदान गरे।

शाक्यले पनि पोखरा महानगर प्रमुख जिसी र प्रमुख प्रशासकीय अधिकृत बराललाई मायाको चिनो दिएका थिए।-Setopati