ह्वाइट हाउस छाड्न चाहँदैनन् ट्रम्प, यहाँ बंकरमा जस्तै सुरक्षित अनुभूति गर्छन्

निर्वाचन हारेपछि डोनाल्ड ट्रम्प दुईपटक मिडियामा आए । आफ्नो कुरा राखे र फर्किए । मिडियाको कुनै पनि प्रश्नको उत्तर दिएनन् ।

अहिले उनी ह्वाइट हाउसबाट करिब ४० किलोमिटर टाढा रहेको भर्जिनियामा गल्फ खेलिरहेका छन् ।

केही अधिकारीहरुलाई बर्खास्त गरिरहेका छन् र केही महत्वपूर्ण निर्णयहरु गरिरहेका छन् । यहीमध्ये एक हो अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय ।

सिएनएनले सुत्रको हवाला दिँदै प्रकाशन गरेको खबरका अनुसार ट्रम्प र उनी पत्नी मेलानिया बिदा मनाउन दक्षिणी फ्लोरिडामा आफ्नो रिसोर्टमा जाने योजना थियो । तर उनले आफ्नो योजनामा परिवर्तन गरेर वासिङ्गटनमै रहने निर्णय गरेका छन् । ह्वाइट हाउसका एक अधिकारीले सिएनएनलाई भने- यो बंकरमा रहने मानसिकता हो ।

निर्वाचन परिणामले ट्रम्पले चुनाव हारेको तथ्या बाहिर ल्याए पनि उनी यसलाई स्वीकार गर्न तयार छैनन् । यसले ह्वाइट हाउस प्रशासनलाई पनि अप्ठेरोमा पारेको छ ।

ट्रम्पले झण्डै एक महिनादेखि आफ्ना खुफिया एजेन्सीको ब्रिफिङ सुनिरहेका छैनन् । यो सन्देश बाइडेनसम्म पनि पुग्न सकेको छैन ।

ट्रम्पले विदेशी नेताहरुसँग संवाद पनि बन्द गरेका छन् । बरु बाइडेनले बधाई लिँदै कतिपय नेताहरुसँग संवाद सुरु गरिसकेका छन् ।

राष्ट्रपति छाडेपछि उनीमाथिका कतिपय आपराधिक गतिविधिमा संलग्न भएका आरोपसहितका मुद्दाहरु सतहमा आउन सक्ने अनुमान गरिएको छ ।