‘ब्याटलग्राउण्ड’मा ओलीको प्रवेश : कोर्ष करेक्सन कि माछा बजारको कचिङ्गल ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादलाई बुधबार बसेको सचिवालय बैठकले केही दिन थाती राखेको छ । कार्यकारी अध्यक्ष प्रचण्डले अघिल्लो बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न बसेको बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समेत छुट्टै प्रतिवेदन पेश गर्ने मनसाय राखेपछि विवादका विषयमा थप छलफल नभएको हो ।

यसअघि मौखिक रुपमा दन्तबझान गर्ने नेताहरु अब दुई फरक दस्तावेज नै हातमा राखेर प्रस्तुत हुने भएका छन् । यो हिसावले हेर्दा नेकपाको कचिङ्गल पहिलेको भन्दा फरक ढंगले थप लम्बिने भए पनि कोर्ष करेक्सनको दिशामा भने तत्कालै नजाने देखिन्छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मंसिर १३ गते बस्ने सचिवालय बैठकमा आफ्नो बचाउका लागि छुट्टै दस्तावेजलाई हतियारका रुपमा प्रयोग गर्ने भएका छन् । यसले नेकपाभित्रको कचिङ्गल घोषित रुपमै र छुट्टाछुट्टै दस्तावेजका साथ लम्बिने भएको हो ।

पार्टीभित्र विधि, पद्धतिको पालनालाई अनिवार्य शर्त बनाएर सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री ओलीलाई त्यसतर्फ हिँडाउन दबाब दिँदै आए पनि यो कचिङ्गल वैचारिक राजनीतिक नभइ पद र शक्ति आर्जनका हिसावले मात्रै भइरहेको नेकपाकै नेताहरुको भनाइ छ ।

तर नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ भने दुवै अध्यक्षको छुट्टाछुट्टै दस्तावेज आउनुलाई पार्टीभित्र वैचारिक बहस व्यवस्थित दिशातर्फ अघि बढेको भनेर बुझ्नुपर्ने सुझाउँछन् ।

सतहमा हेर्दा बहुमत सदस्यहरुको आवाजलाई नजरअन्दाज गर्दै आएका ओली तत्कालका लागि एक कदम पछि हटेजस्तो देखिए पनि आगामी दिनमा थप तयारीका साथ अघि बढ्ने रणनीति लिएको जानकारहरु बताउँछन् । उनको यो कदमले समाजवाद भन्दा पनि पुँजीवादलाई नै सघाउ पुग्ने उनीहरुको भनाइ छ ।

ओलीले आन्तरिक तयारीका लागि १० दिनको समय माग गरेका छन् । बुधबारको सचिवालय बैठकले उनलाई सो समय उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

गत वैशाखबाटै सुरु भएको नेकपाको झगडामा प्रधानमन्त्री ओलीले पार्टी कमिटीका निर्णय पालनामा चासो नदेखाउने तथा सचिवालय बैठकसमेत बोलाउन अस्वीकार गर्दै आएपछि ध्रुवीकरण थप चुलिँदै गएको थियो । तर बुधबारको बैठकमा ओली सहभागी हुनु र कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सदस्यहरुले ओलीलाई ब्याटलग्राउण्डमा ओर्लन बाध्य बनाउनुलाई सचिवालयका बहुमत सदस्यहरुले एक किसिमको सफलता ठानेका छन् । -Ratopati