बैठकमा नेकपा महासचिवको प्रस्ताव : हामी सचिवालय सदस्य असक्षम भयौँ, सबैले सामुहिक राजीनामा दिउँ

काठमाडौं, नेकपा महासचिव विष्णु पौडेलले सो पार्टीको केन्द्रीय सचिवालयका सबै सदस्यले सामुहिक राजीनामा दिई नयाँ नेतृत्व चयनको प्रक्रियामा जान प्रस्ताव गरेका छन्।

महासचिव पौडेलले आज बुधबार बसेको सचिवालय बैठकमा सो प्रस्ताव गरेका हुन्।

‘हामी सबै असक्षम भयौं, त्यसैले सबैले सामुहिक राजीनामा दिउँ र स्थायी कमिटीमा जाउँ, त्यहिँबाट नेतृत्व ल्याउँ,’ पौडेलले सचिवालय बैठकमा प्रस्ताव गरे।

पार्टीमा देखापरेका एकपछि अर्को संकट समाधानमा अहिलेको सचिवालयको नेतृत्व असक्षम भएको भन्दै पौडेलले सो प्रस्ताव गरेका हुन्।

त्यसैगरी सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीका विवादहरुबारे आफ्नो छुट्टै प्रस्ताव ल्याउने बताएका छन्।

यसअघि शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९–पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए।

नेकपा विवाद : प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने

सो प्रस्तावमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टी तथा सरकार राम्रोसँग नचलाएको, एकलौटी गरेको लगायतका आरोप लगाइएको छ।

‘तपाईंले शुक्रबार पेस गरेको प्रतिवेदन आरोप र लान्छनापत्र हो, त्यसबारे चुप लागेर बस्ने कुरा हुँदैन, म त्यसको व्यवस्थित र तथ्यगत आधारमा जवाफ दिन्छु,’ प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए, ‘त्यसका लागि मलाई १० दिन चाहिन्छ।’

त्यसैगरी, सोहि बैठकमा अर्का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले प्रतिवेदनमा उठाएका विषयहरुको एक एक गरी जवाफ दिने बताएका थिए।

‘तपाईंले प्रतिवेदनमा उठाएका विषयहरुको बुँदागत रुपमा जवाफ आउँछ,’ पोखरेलले बैठकमा भनेका थिए।-मणि दाहाल/ नेपालखबर