बालुवाटार पुगेर वामदेवले भने– प्रचण्डको प्रस्तावमा मेरो पनि योगदान छ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आइतबार बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

भेटमा गौतमले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेकव प्रस्तावमा आफ्नो पनि योगदान रहेको प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

‘प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको प्रस्ताव हामी सचिवालयका पाँचैजना कमरेडहरुले मिलेर तयार गरेका हौं’ गौतमले प्रधानमन्त्री ओलीलाई भने, ‘यो प्रस्ताव तयार गर्नमा कम–बेसी मेरो पनि योगदान छ । यो प्रचण्डले पेश गरे पनि यसमा प्रचण्डमात्रै होइन, पाँचैजना संलग्न छौं ।’

उपाध्यक्ष गौतमले बालुवाटार पुगेर सो प्रस्ताव प्रचण्डको मात्रै नभई पाँचै जना नेताहरुको साझा प्रस्ताव भएको प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।
शुक्रबार बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न प्रवृत्तिगत आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।

प्रचण्डद्वारा प्रस्तुत प्रस्तावमा केपी ओलीलाई ‘त्याग गर्न’ भन्दै घुमाउरो अर्थमा राजीनामा मागिएको छ । यो प्रस्तावमाथि मंसिर ३ मा बस्ने सचिवालय बैठकमा छलफल हुने कार्यसूची छ ।

केपी ओली पक्षका नेताहरुले भने प्रचण्डद्वारा प्रस्तुत उक्त पार्टी एकताको भावना विपरीत आएको भन्दै सो प्रस्ताव फिर्ता लिन माग गरिरहेका छन् । यहीबेला उपाध्यक्ष गौतमले बालुवाटार पुगेर सो प्रस्ताव प्रचण्डको मात्रै नभई पाँचै जना नेताहरुको साझा प्रस्ताव भएको प्रधानमन्त्रीलाई जानकारी गराएका हुन् ।

उपाध्यक्ष गौतमसँगको भेटमा प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर, गौतमले ‘यो समस्याको सर्जक तपाई आफैं हो भन्दै आफैं समाधान निकाल्न’ सुझाएको बालुवाटार स्रोतले बतायो ।

‘यो समस्या तपाई र प्रचण्डले जानेर/नजानेर सिर्जना गर्नुभएको हो । यो समस्या तपाईहरु दुईटासित सम्बन्धित भएर आयो । दुईटामा पनि तपाई पहिलो नम्बरमा हुनुहुन्छ’ गौतमले प्रधानमन्त्री ओलीलाई भने, ‘त्यसो भएर तपाईले नै यो समस्या यसरी समाधान गर्ने भनेर भनेपछि त्यसमा मेरो सहयोग हुन्छ । तपाईले नै यसरी समाधान गर्छु भनेर अगुवाई नगर्ने हो भने मलाई मात्रै भनेर मसित कुनै बाटो छैन ।’

स्रोतका अनुसार उपाध्यक्ष गौतमले प्रधानमन्त्रीलाई भने, ‘समस्या सिर्जना हुनमा मेरो कमजोरी के छ भनेर सोच्नोस् । प्रचण्डले पनि सोच्नुपर्छ, तपाईले पनि सोच्नुपर्छ । दुबैले महसुस गरेपछि बल्ल समाधान हुन्छ । जबसम्म तपाईहरुले यो महसुस गर्नुहुँदैन, त्यसबेलासम्म समस्याको पहिचान हुँदैन र समाधान पनि हुँदैन ।’

यसैबीच, प्रधानमन्त्री ओलीले वामदेवलाई सरकारमा सहभागी हुन र मन्त्री बन्न प्रस्ताव गरेको चर्चा भए पनि उपाध्यक्ष गौतमले त्यसलाई अस्वीकार गरे ।

सरकारमा सहभागी हुन प्रधानमन्त्रीले तपाईलाई प्रस्ताव गर्नुभएको हो ? भन्ने अनलाइनखबरको प्रश्नमा नेता गौतमले भने, ‘प्रधानमन्त्रीले मलाई सरकारमा भूमिका खेलिदिनुपर्‍यो भन्नुभएको छैन । सरकारमा भूमिका खेल्नुपर्‍यो भनेर उहाँले यस्तो बेलामा भन्नुहुन्न र मैले पनि त्यस सम्बन्धमा चासो राख्दिनँ ।’

उपाध्यक्ष गौतमले अहिले मन्त्री बन्ने आफूमा चाहना नरहेको बताए ।-अनलाइनखबर