आठ पटक गरे सफल सर्जरी, पछि थाहा भयो डाक्टर रहेछन् नक्कली

नेपाली समाजमा डाक्टरलाई भगवान मानिन्छ । डाक्टरले लेखेको औषधिमा समेत कुनै बिरामीले प्रश्न उठाउँदैनन् । डाक्टरले दिएको सल्लाह समेत जस्ताको तस्तै मान्ने चलन छ । तर, यी डाक्टर नक्कली निस्किए के होला?

केन्यामा यस्तै भएको छ । त्यहाँ आठपटक सफल सर्जरी गराउने डाक्टर नक्कली भएको पाइएको छ । रोनाल्ड मेल्लीले धेरै वर्ष केन्याको काप्साबेट काउन्टी रिफेरल हस्पिटलमा काम गरे । कसैले उनी नक्कली डाक्टर भएको चाल पाएनन् ।

स्थानीय समाचार संस्थाका अनुसार, फ्याकल्टी अफ मेडिसिन माताहतमा रहेर रोनाल्डले आठ पटक गम्भीर प्रकृतिका सर्जरी गराएका थिए । र भाग्यवस ती सबै सफल भएका थिए ।

तर जब केन्याको अनुगमन टोलीले रोनाल्ड मेल्लीसँग डाक्टरीको औपचारिक प्रमाणपत्र खोज्ने प्रयास गरे । उनी नक्कली डाक्टर भएको रहस्य खुल्यो । उनी नक्कली हुनु भन्दा पहिले नै चर्चित भै सकेका थिए ।

जब उनी नक्कली डाक्टर भएको खबर सुनियो त्यहाँका मानिसहरु आश्चर्य चकित बनेका थिए । किनभने उनी त्यहाँका चर्चित डाक्टर थिए । आन्तरिक रुपमा डाक्टरहरु अस्पतालमा राखिने हुँदा यस्तो समस्या उत्पन्न भएको बताइएको छ ।