अस्पतालको बेडबाट मनोज गजुरेलले भने, ‘म आराम छु’

काठमाडौँ । बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड अस्पतालको आईसीयूमा उपचार गराइरहेका हास्यकलाकार मनोज गजुरेलले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत गजुरेलले आफू आराम रहेको र आरामको कामना गरिरहेको बताए । अस्पतालको बेडमार्फत गजुरेलले हिजोभन्दा आज धेरै राम्रो भइरहेको जानकारी दिएका छन् ।

गजुरेलले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद समेत भनेका छन् । गजुरेललाई कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार उनलाई सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

गजुरेलकी पूर्वपत्नी मिना ढकालले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै शीघ्र स्वास्थ्य लाभको कामनासहित गजुरेल छिट्टै हार मान्ने मान्छे नभएको बताएकी छिन् ।