नरवणे नेपाली सेनाका १८ औं मानार्थ महारथी

काठमाडौं । नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आजदेखि नेपाली सेनाको मानार्थ महारथी बन्नेछन् । जंगीअड्डाको अभिलेखअनुसार भारतीय सेनाध्यक्ष नरवणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं व्यक्ति हुनेछन् ।

बुधबार काठमाडौं आइपुगेका नरवणेले विभिन्न ऐतिहासिक सम्पदा र पशुपतिनाथको दर्शन गरे । यसक्रममा उनी नेपाली ढाकाटोपीमा समेत सजिए ।

नेपाली सेनाले उपलब्ध गराएको विवरणअनुसार सन् १९५० देखि एकअर्काको देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलन रहीआएको छ । तर, सैनिक इतिहासका जानकारहरु त्यसअघिबाट नै यस किसिमको सम्मान दिन थालिएको बताउँछन् ।

सेनाका अवकाश प्राप्त सहायक रथी प्रेमसिंह बस्न्यातको दाबीअनुसार राणा प्रधानमन्त्री वीर शमशेरको पालाबाटै यो परम्पराको सुरुवात् भएको हो ।

उनका अनुसार तत्कालीन व्रिटिस इन्डियाले गोर्खा सैनिकलाई आफ्नो मातहतमा काम गराउनका लागि प्रोत्साहन स्वरुप मानार्थको सम्मान दिने चलन सुरु गरेको थियो । त्यसबेला महासेनानीबाट सम्मान दिन सुरु गरिएको उनको भनाइ छ ।

राणा शासनका बेला जंगबहादुर, रणदीप लगायतले गार्खालीलाई ‘लाहुर’मा जान निरुत्साहित गर्ने नीति लिएको उनी बताउँछन् । वीर शमशेरका पालाबाट भने ब्रिटिस इन्डियाले सम्मानको प्रलोभन देखाएर लाहुरमा लैजान थालेको उनको भनाइ छ ।

दोस्रो विश्वयुद्धको अन्त्यपछि २४ अक्टोबर १९४५ मा नेपाल भ्रमण गरेका बेलामा ब्रिटिस इण्डियाको तर्फबाट सेना प्रमुख सर क्लाउडेलाई पहिलो पटक मानार्थ जर्नेलको सम्मान दिइएको इतिहासविदहरु बताउँछन् । उनीहरुका अनुसार तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले उनलाई मानार्थ जर्नेलको दर्ज्यानी चिह्न दिएका थिए ।

जंगीअड्डाको अभिलेखले पनि भारत स्वतन्त्र हुनुअगावैबाट नेपाल र भारतका सैनिकबीच एकअर्काको देशमा भ्रमण गर्ने कार्यको सुरुवात भइसकेको देखाउँछ ।

मानार्थको सम्मान दिने प्रचलनको इतिहासबारे विभिन्न खाल्का दाबी भेटिए पनि याे सम्मान दिने चलन ब्रिटिस इन्डियाकै समयबाट सुरु भएको अधिकांश सैन्य इतिहासका जानकारहरुको भनाइ छ ।

त्यसबेला यसको उद्देश्य गोर्खालीलाई ‘लाहुर’मा लैजानु भए पनि हाल भारतले सुरक्षा रणनीतिका कारण यसलाई महत्व दिने गरेको छ ।

नेपाली सेनाले पनि यस प्रकारको चलनले छिमेकी राष्ट्रबीचको आपसी सम्मान र पारस्परिक विश्वासलाई प्रतिबिम्बित गर्ने बताउँदै परम्परागत चलनलाई निरन्तरता दिँदै आएको छ । यद्यपि, राजनीतिक वृत्त र नागरिक स्तरबाट यो परम्परामाथि पुनर्विचार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ ।

मानार्थ महारथीको सम्मान दिने परम्पराले दुई देशबीच सैन्य र राजनीतिक सम्बन्ध सुमधुर रहेको संकेत गर्छ – विनाेज बस्न्यात, पूर्वउपरथी
नाकाबन्दीका हुँदा दिइएको थिएन सम्मान

जंगीअड्डामा भएको अभिलेख अनुसार मानार्थ महारथीको दर्ज्यानी चिह्न दिने परम्पराको सुरुवात १९५० देखि भएको हो । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए ।

त्यसपछि भारतबाट सेनाध्यक्ष राजेन्द्र सिंहजी जडेजा, सत्यवन्त मल्लना (एसएम) श्रीनागेस, तपीश्वर नारायण रैना, ओम प्रकाश मलहोत्रा, के वी कृष्ण राव, अरुण श्रीधर वैद्य, सुनीत फ्रांसिस रोड्रिग्स, शंकर राय चौधरी, वेद प्रकाश मलिक, सुन्दरराजन पद्मनाभन, निर्मल चन्द्र विज, दीपक कपूर, विजय कुमार सिंह, बिक्रम सिंह, दलबीर सिंह सुहाग र विपीन रावत गरी १७ जनाले मानार्थ सेना प्रमुखको सम्मान लिइसकेका छन् ।

नेपालबाट १९६९ मा प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी चिन्ह पाएका थिए । त्यसयता सिंहबहादुर बस्न्यात, गुण शमशेर जबरा, सिंहप्रताप शाह, अर्जुननरसिंह राणा, गडुल शमशेर जबरा, धर्मपालवरसिंह थापा, प्रज्वल शमशेर जबरा, प्यारजंग थापा, रूक्माङ्गद कटुवाल, छत्रमानसिंह गुरुङ, गौरव शमशेर जङ्गबहादुर राणा, राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा गरी १४ जनाले मानार्थ महारथीको सम्मान पाइसकेका छन् ।

नेपाली सेनाका अवकाश प्राप्त उपरथी विनोज बस्न्यातका अनुसार मानार्थ महारथीको सम्मान दिने परम्पराले दुई देशबीच घनिष्ठ सम्बन्ध रहेको देखाउँछ । यो सैन्य मात्र नभइ, राजनीतिक सम्बन्ध समेत सुमधुर रहेको संकेत भएको बस्न्यात बताउँछन् ।

इतिहासले दुई मुलुकबीच सम्बन्ध अफ्ठ्यारो परिस्थितिमा भएका बेला यो सम्मानलाई स्थगित गरिएको देखाउँछ । जंगीअड्डाका अनुसार ०४५ सालमा भारतले पञ्चायतविरुद्धको आन्दोलनमा सहयोग गर्दै नाकाबन्दी लगाएपछि नेपालका प्रधानसेनापति सत्चितशमशेर जबरा भारत गएनन् । त्यसबेला नेपालले चीनबाट आफूलाई चाहिने साना हतियार र विमानभेदी हतियार (एन्टीएयर क्राफ्ट गन) ल्याएपछि भारत रिसाएको थियो ।

प्रकरणपछि भारतका तत्कालीन सेनाध्यक्ष जनरल जोगिन्दर जसवन्त (जेजे) सिंहलाई पनि मानार्थ सेना प्रमुखको सम्मान लिन निमन्त्रणा दिइएन । यसपटक पनि भारतीय सेनाध्यक्ष नरवणेले नेपालले कसैको इसारामा सीमा सम्बन्धी विषय उचालेको सार्वजनिक टिप्पणी गरेपछि उनको आलोचना भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सुरुवातमा उनलाई मानार्थको सम्मान लिन नबोलाउने अडान राखेका थिए । तर, दिल्ली देहरादुनमा ‘भारतीय सैनिक एकडेमी’काे एक कार्यक्रममा नरवणेले त्यस अभिव्यक्तिलाई सच्याएपछि उनलाई नेपाल भ्रमणमा बोलाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक अन्तरवार्तामा भनेका छन् ।

नागरिकस्तरबाट भने अझै पनि नरवणेको भ्रमणको आलोचना भइरहेको छ । बुधबार माइतीघरमा २१ दलीय मोर्चाको नाममा भेला भएका केही व्यक्तिले नरवणे भ्रमणको विरोधमा प्रदर्शन गरेका छन् । कालोझण्डा देखाउने केही व्यक्ति पक्राउ परेका छन् भने अन्य केही व्यक्ति निगरानीमा छन् ।

नरवणेको त्यो अभिव्यक्तिका कारण तीन दिने नेपाल भ्रमणका क्रममा उनलाई कालो झण्डा देखाउने, कफन बाँधेर बस्ने, एक्कासी धेरै व्यक्ति भेला भएर विरोध प्रदर्शन गर्ने जस्ता गतिविधि हुनसक्ने विश्लेषण गर्दै सुरक्षा निकायले विशेष सुरक्षा सतर्कता अपनाएको थियो ।

कुनै असहज परिस्थित आए पनि दुई देशका सेनाले लामो समयसम्म सहकार्य गर्न सक्ने वातावरण यो परम्पराले बनाउँछ – रुक्माङ्गत कटवाल, पूर्वप्रधानसेनापति
मानार्थ महारथीको सम्मान दिनुको अर्थ

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार यस किसिमको परम्पराले दुई देशबीच रहेको सम्बन्धलाई प्रगाढ र सुदृढ बनाउन भूमिका खेल्छ । ‘यसरी मानार्थ सम्मान दिने चलन अन्य देशका सेनाबीच पनि छ’, सहायक रथीसमेत रहेका पौडेल भन्छन् ।

अवकाश प्राप्त प्रधानसेनापति रुक्माङ्गत कटवाल मानार्थ महारथीको दर्ज्यानी चिह्न दिने परम्पराले भविष्यमा कुनै पनि अवस्थामा आवश्यक परे दुई देशका सेना सधैं एकैठाउँमा छन् भन्ने सन्देश दिने बताउँछन् । उनका अनुसार यस किसिमको परम्परा र सैन्य सहकार्यले दुई देशबीचका सेनालाई बहुआयामिक, व्यवसायिक र दक्ष बनाउन भूमिका खेल्छन् ।

‘कुनै असहज परिस्थित आए पनि दुई देशका सेनाले लामो समयसम्म सहकार्य गर्न सक्ने वातावरण यो परम्पराले बनाउँछ’, उनी भन्छन्, ‘यसले दुई सार्वभौम छिमेकी राष्ट्रबीच विगतदेखि रहेको आपसी सम्मान र पारस्परिक विश्वासलाई पनि प्रतिबिम्बित गर्छ ।’

अर्का अवकाश प्राप्त प्रधानसेनापति गौरव शमशेर जबराका अनुसार दुई देशबीच रहेको प्रगाढ सैन्य सम्बन्धले कतिपय अवस्थामा देशमा आउने चिसोपनका वेला संवादको ढोका खोल्छ । त्यसैले दुई देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलनले देशलाई शान्ति र सुरक्षाको दृष्टिकोणबाट सकरात्मक भूमिका खेल्न मद्दत गर्ने उनी बताउँछन् ।

भारतको सुरक्षा रणनीति

जानकारहरुका अनुसार भारतले सुरक्षा रणनीतिका कारण पनि सैन्य कुटनीतिलाई थप बलियो बनाउन यो परम्परालाई निरन्तरता दिइरहेको छ र पछिल्लो परिवेशमा यसको महत्व झनै बढिरहेको विज्ञहरु बताउँछन् ।

पाकिस्तानबाट नेपाल हुँदै भारतविरुद्ध गतिविधि हुने गरेको त्यहाँका अधिकारीहरुले पटकपटक सार्वजनिक गर्ने गरेका छन् । खुला सीमा रहेको अवस्थामा नेपालको सुरक्षा स्थिति मजबुत नभए भारतलाई सुरक्षाको हिसाबले चुनौति हुने उसको विश्लेषण छ । त्यसैले भारतले सुमधुर सैन्य कूटनीतिलाई जोड दिइरहेको हो । त्यसैको एउटा सफल र फरक उदाहरण मानार्थ महारथीको सम्मान दिने चलन भएको जानकारहरु बताउँछन् ।

सुरक्षाविद् इन्द्र अधिकारी भन्छिन्, ‘भारतले नेपालको सुरक्षा कमजोर हुनु आफ्नो लागि पनि चुनौति हुने ठानेको छ र नेपालको सुरक्षा स्थिति मजबुत बनाउन योगदान सके आफू पनि सुरक्षित हुने बुझाइ अनुरुप सैन्य कूटनीतिलाई बलियो बनाउन यसप्रकारको परम्परालाई निरन्रता दिइरहेको छ ।’

परम्परागत हिसाबले नेपालको तर्फबाट हेर्दा समेत मानार्थ महारथीको सम्मान दिने परम्परा पनि रणनीतिक देखिने उनी बताउँछिन् ।-गौरव पोखरेल/Onlinekhabar