पार्टी विवादबारे मैलै बोल्ने बेला भएको छैनः नेता नेपाल

काठमाडौं, १७ कात्तिक ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विवादबारे आफुले बोल्ने बेला नआएको प्रतिक्रिया दिएका छन् । काठमाडौँ शंखरापुरको जरसिंहपौवामा शालिकसहितका पार्क बनाउनेबारे सोमबार भएको कार्यक्रममा नेता नेपालले पार्टी भित्रको विवादबारे टिप्पणी गर्न अस्वीकार गरेका हुन् ।

नेकपा भित्रको विवाद र प्रधानमन्त्रीका रुपमा नाम अघि आएको बारे सोधिँदा नेता नेपालले भने, ‘त्यसबारे अहिले बोल्ने बेला भएको छैन । हामी अहिले अर्कै कामका लागि भेला भएका छौँ । यस्तो बेला विवादका विषयमा कुरा नगरौँ ।’

कार्यक्रममा सहभागी भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि पार्टी विवादबारे नबोल्ने बताए । नेता नेपालको विश्वास पात्रका रुपमा रहँदै आएका मन्त्री भट्टराईले विवादबारे बोल्न उपयुक्त नहुने उल्लेख गरे ।