कहाँ गयो पशुपतिको अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको १७३ तोला सुन ?

काठमाडौं । पाशुपत क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ। अष्टदलमा तीन सय ७९ तोला र भैरवमा तीन सय ३४ तोला थियो। अष्टदलमा ८५ र भैरवमा ८८.५ (जम्मा १७३.५) तोला कम भएको पाइएको हो।

पशुपति क्षेत्र विकास कोषले २ वर्षअघि नै यसबारे थाहा पाएर सोध्दै गुह्येश्वरीका पुजारीलाई पत्राचार गरेको थियो। तर, लामो समय त्यसलाई गुपचुप राखियो। कोषका पदाधिकारीलाई घटस्थापनाका दिन बर्सेनि गरिने पर्वपूजामा यसपटक पुजारीले रोके। त्यससँगै सुन हराएको प्रसंग पुनः खोतलिएको हो।

कोषले २०७५ भदौ ६ गते पुजारीलाई लेखेको पत्रअनुसार अष्टदलमा दुई सय ९४ तोला मात्रै पाइएको छ। भैरवको मूर्तिमा सुनको परिमाण दुई सय ४५.५ तोलामा झरेको छ। ८५.७३ तोलाको एक किलो हुन्छ। यस हिसाबले दुई किलोभन्दा बढी सुन हराएको देखिन्छ।

बजारमा सुनको भाउ प्रतितोला ९४ हजार ४ सय रुपैयाँ छ। अहिलेको मूल्यमा हराएको सुनलाई करिब एक करोड ६४ लाख रुपैयाँ पर्छ। गुठी संस्थानअन्तर्गत पुजारी र रैरकमी गुहेश्वरीमा काम गर्दै आएका छन्। कोषमातहतको पाशुपत क्षेत्रस्थित मन्दिरका दुवै मूर्तिमा २०७५ साल साउनमा २ करोड ११ लाखभन्दा बढी रकम कोषले खर्चिएको थियो। दुवै मूर्ति मर्मतसम्भार गरी सुनको मोलम्बा (तामा वा चाँदीको मूर्तिमा सुनको लेपन) लगाउने कार्य २०५७ सालमा सम्पन्न भएको थियो।

कोषका तत्कालीन कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले सुन घट्नुको सत्यतथ्य खुलाई जवाफ दिन पुजारी सुमन कर्माचार्यलाई पत्र पठाएको कागजातले देखाउँछ। पाँच पुजारी, नौ द्यःपाला खड्गी र नौ द्यःपाला ज्यापूले आआफ्नो हस्ताक्षरसहितको स्पष्टीकरण मंसिर २१ गते कोषलाई पठाएका थिए। उनीहरूले ‘लामो समय मर्मत नहुँदा सुरुमा प्वाल परेको र क्रमशः पाता खिइँदै गएको’ जवाफ दिएका थिए।

‘०५७ सालमा गुह्येश्वरी मन्दिर जीर्णोद्धारका क्रममा मूर्तिको पनि मर्मत गरी २० वर्षपछि नापतौल गर्दा सुन कम भएको पाइएको हो’, समितिका सचिव डंगोलले भने। उनका अनुसार भक्तजनले सिन्दूर र अबिरका साथै नरिवलको पानीले पूजा गर्ने भएकाले सुनका मूर्ति खिइएका हुन्।

मन्दिरमा दैनिक भक्तजनको संख्या सरदर तीन सयहाराहारी पुग्छन्। ‘दिनको चारपटक पखालिन्छ। त्यति बेला मूर्तिलाई नरम ब्रस र पानी प्रयोग गरिन्छ’, उनले भने, ‘कोरोनाका कारण मन्दिर बन्द भएकाले कोषका पदाधिकारीलाई घटस्थापनाका दिन रोकेका हौं। अष्टदलको मूर्तिमा समितिको नाम राख्न भनेका हौं।’

मूर्तिमा नाम राख्न नमिल्ने तर्क कोषका पदाधिकारीको छ। ‘गुह्येश्वरीको हालसम्मको आम्दानी र खर्च कोषलाई थाहा छैन। पशुपतिनाथको जस्तै आम्दानी र खर्च पारदर्शी बनाउन कोषले नियमावली बनाइरहेको छ’, कोषाध्यक्ष डा. मिलनकुमार थापाले भने, ‘करिब दुई किलो सुन कुनै हालतमा खिइँदैन। कुनै पनि हालतमा कारबाही हुन्छ।’

‘सुन खियाइको मात्रा अस्वाभाविक’

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य सुन खियाइको मात्रा अस्वाभाविक भएको बताउँछन्। ‘पानीले पखाल्दा र नरम ब्रसले सामान्य सफा गर्दा ७१३ तोला सुनमा १७३.५ तोला घट्नु विश्वासिलो तर्क होइन’, शाक्य भन्छन्। बर्सेनि एक तोलामा दुई–चार लाल वा बढीमा एक आनासम्म खिइनुलाई मात्र स्वाभाभिक मानिने उनको भनाइ छ।

महासंघकै संस्थापक अध्यक्ष मणिरत्न शाक्य पनि सुन खिइने भनेको वर्षको एक–दुई आना मात्र भएको बताउँछन्। ‘२० वर्षमा ७१३ तोला सुनमा १७३.५ तोला त खिइनु नपर्ने। गजुरमा भए, छानामा भए घामपानीको वर्षामा बेग्लै कुरा हो’, शाक्य भन्छन्, ‘हल्का कपडाले पुछे आनाभन्दा कम खिइन्छ। मोलम्बा गर्नेको चलखेल हुन सक्छ। धेरै सुनेको पाएको छु।’

कोषका सचिव डा. प्रदीप ढकाल गुह्येश्वरीमा खर्च कोषले गरेपछि त्यसको व्यवस्थापन कोषले नै गर्ने बताउँछन्। ‘गुठी संस्थान र कोषको द्वैध स्वामित्व भएकाले पनि समस्या भएको हो’, सचिव डा. ढकाल भन्छन्, ‘मन्त्रिपरिषद्मा पुगेको कोषको हालको गुरुयोजनामा पनि पाशुपत क्षेत्रभित्र रहेका सबै मठमन्दिरको जिम्मा कोषको रहने उल्लेख छ।

संस्थानसँग यसबारे समन्वय पनि भइरहेछ।’ कोषमा भएको मुचुल्काअनुसार भगवान् पशुपतिनाथ र गुह्येश्वरीको पनि गरगहना र सामान छानबिन गर्न कोषाध्यक्ष थापाकै संयोजकत्वमा समिति बनाउन कोषले गृहकार्य गरिरहेको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।