डेरावाललाई डरैडर !

काठमाडौं । सरकार भन्छ– ‘बेहोस हुन लागे–लागे मात्र अस्पताल जानुहोस्।’ कोरोना संक्रमितको संख्या बढ्दो छ। तिनलाई धान्न पुग्दो अस्पताल पनि छैनन्। त्यही भएर अधिकांशले घरलाई नै आइसोलेसन बनाइरहेका छन्।

आफ्नै घर हुनेका लागि त यसमा गाह्रो भएन। यसको मारमा परेका छन्– डेरा गरेर बस्नेहरू। घरबेटीलाई सुनाऔं, बस्न÷पस्न नदिने डर। त्यही भएर प्रस्टै लक्षण भए पनि अधिकांश डेरावाल जँचाउन जान हिचकिचाइरहेका छन्। जँचाएर पोजिटिभ रिपोर्ट आउनेहरू चुपचाप भित्रै बसिरहेका छन्।

काठमाडौं उपत्यकामा संक्रमितको संख्या ५३ हजार ६ सय ८९ पुगेको छ। जसमध्ये काठमाडौंमा मात्रै ४३ हजार २ सय ६५ संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा ९ हजार ९ सय ५२, भक्तपुरमा १ हजार ३ सय ५० र ललितपुरमा २ हजार ४ सय २० संक्रमित होम आइसोलेसनमा छन्। तीमध्ये ठूलो संख्या डेरावालको छ। डेरावालमध्येको ठूलो संख्या कष्टकर रूपमा समय बिताइरहेका छन्।

डेरावालमध्ये कतिपय कोठा लिएर बसेका छन्। त्यो पनि मिलेर। कतिपयले फ्लाटै भाडामा लिएका छन्। तर, प्रायःलाई चिन्ता भने उही छ– ‘घरबेटीले रिपोर्ट पोजिटिभ आएको थाहा पाए के गर्ने ?’ काठमाडांै गौशालामा डेरा गरी बस्ने रविन नेपाल (नाम परिवर्तन)लाई पाँच दिनअघि कोरोना पुष्टि भयो। संक्रमितको सम्पर्कमा आएपछि उनले परीक्षण गराएका थिए। तर, उनी डेराबाट निकालिने डरले घरधनीलाई भन्न नसकेको बताउँछन्।

‘रिपोर्ट पोजिटिभ आएको हो’, उनी भन्छन्, ‘घरधनीलाई सुनाएको छैन। परीक्षण गराउन स्वाब दिएको थाहा पाउँदै कडीकडाइसाथ सोधखोज गर्न थालेकाले ढाँटें। यो महामारीमा घरबाट निकाले भने कहाँ जानु ? संक्रमित भन्ने थाहा पाए अन्यत्र पनि डेरा पाइन्न।’ धुम्बाराही बस्ने हरि घिमिरे (नाम परिवर्तन) संक्रमित भएदेखि फोनमा पनि कुरा गर्न डराउने गरेको बताउँछन्। ‘साथीभाइले बिरामीलाई शुभेच्छा राखेर हालखबर सोध्दा आवाज दबाएर बोल्नुपर्छ’, उनी भन्छन्, ‘घरबेटी नभएको अवस्थामा मात्र परिवार र साथीभाइको फोन उठाउँछु।’

रविन र हरि प्रतिनिधि पात्र मात्र हुन्। सहरमा धेरै संक्रमित सामाजिक बहिष्कारमा पर्ने डरले मौन बसेका छन्। संक्रमित भएको अवस्थामा घरबेटीले नै दैनिक उपभोग्य वस्तु ल्याएर सहयोग गरिदिनुपर्ने हो। तर, बाध्यताले संक्रमित स्वयं नै रोग लुकाएर किनमेलमा निस्किन बाध्य छन्। कतिपय संक्रमित पोजिटिभ रिपोर्ट दराजमा राखेर दैनिकीमा निस्किन बाध्य छन्। जनस्वास्थ्यविद् रवीन्द्र पाण्डे रोगप्रतिको बुझाइमा समस्या देखिएको बताउँछन्। ‘कोरोना जुन रुपमा थिएन त्यो रुपमा हेरियो’, पाण्डे भन्छन्, ‘कसैले केही होइन भनेर पूरै बेवास्ता गरे। कसैले टाढाबाटै बिरामीलाई हेर्दा पनि सर्छ भन्ने तरिकाले बुझे। बुझाइमा धेरै समस्या भएकाले हामी असामाजिकीकरणतर्फ मोडियौं।’ गाउँको कोसेली बाँडेर खाने घरबेटी र डेरावालको सम्बन्धलाई कोरोनाले दूरी बढाइदिएको उनको बुझाइ छ।

समाजशास्त्री डा. मीना उप्रेती कोरोनाका कारण निम्तिएका समस्यालाई दुई–तीन तरिकाले विश्लेषण गर्छिन्। ‘कोरोना लागेको मानिसलाई समाजमा गरिने बहिष्कारमा मुख्य तीन कुराले भूमिका खेलेको छ’, डा.उप्रेती भन्छिन्, ‘पहिलो कुरा त रोगको त्राससँग जोडिएको छ। दोस्रो, मानिस एकदमै व्यक्तिवादी भए। घरबहाल उठाउने तर डेरावालका समस्यामा सहयोग नगर्ने। अर्को मानिस सम्बन्धभन्दा पनि पैसाको पछि मात्रै लागेर यस्ता समस्या आएको हो।’

यी तीन कुराले विवेकविहीन समाजतिर डोर्‍याउने उनको ठम्याइ छ। अहिले कोरोना त्रासभन्दा पनि त्यसले निम्त्याएको विभेदले पीडित बनाएको उनी बताउँछिन्। उनका अनुसार धेरै अफवाह फैलाइएका कारण पनि सामाजिक सम्बन्धमा असर परेको छ। बिरामीलाई तिरस्कार गर्नुभन्दा पनि उनीहरूलाई सहयोग गर्नुपर्ने उनको सुझाव छ।

‘आज एक जना बिरामी भए केही दिनपछि ठीक हुन्छ भनेर हौसला दिनुपर्छ’, उनी भन्छिन्, ‘सहयोग गर्नुपर्छ। भोलि मलाई गाह्रो पर्दा सहयोग गर भन्ने अवस्था सिर्जना हुनुपर्छ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।