
काठमाडौं, असोज १९ । केही दिनको स्थगनपछि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति दिने सेवा पुन: सुरु गरेको छ।
एक कर्मचारीमा कोरोना संक्रमण देखिएछि कार्यालयले गत बुधबारदेखि श्रम स्वीकृतिलगायत सबै सेवा बन्द गरेको थियो।
आज (सोमबार) देखि श्रम स्वकृति दिने सेवा पुनः खुला गरिएकाे कार्यालयले जनाएकाे छ।
भिसाको म्याद सकिन लागेका तथा तत्काल गन्तव्य देशमा पुग्न नसकी रोजगारी गुम्ने अवस्थामा रहेका श्रमिकलाई ध्यानमा राखी पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति दिन थालिएको रोजगार कार्यालयले जनाएको छ ।
तर सेवा लिन आउनेले भौतिक दूरी पालनालगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने कार्यालयले जनाएको छ।
कार्यालयमा लगाइएको गोलो चिह्नमा रहेर लाइनमा बस्न तथा त्यसभन्दा अघि साबुनपानीले राम्रोसँग हात धोएर आउन भनिएको छ।