को बन्ला नेपाल विद्युत प्राधिकरणको सीईओ ?

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने सम्बन्धमा आगामी मन्त्रिपरिषद् बैठकले टुंगो लगाउने बताइएको छ। अहिले सम्मको स्थिति मूल्यांकन गर्दा कुलमान घिसिङ नै दोहोरिने सम्भावना रहेको बताइएको छ। कुलमान घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍याउने गरी मन्त्रिपरिषद्ले प्रस्ताव तयार पारिसकेको प्राधिकरण उच्च स्रोतले बताएको छ।

यही बिहीबारको मन्त्रिपरिषद् बैठकमा घिसिङको नाम प्रस्ताव गरिने बताइएको छ। कार्यकारी निर्देशक घिसिङको कार्यावधि यही भदौ २९ गते सकिँदै छ। ‘नेकपा भित्र पनि माओवादी खेमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा उभिएको तर एमाले खेमा घिसिङको विकल्प खोज्नुपर्नेमा रहेको भए पनि घिसिङको पक्षमा नै सहमति भएको बुझिएको छ’, उच्च स्रोतले भन्यो।

यसअघि ऊर्जामन्त्री वर्षमान पुनले कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरता दिने गरी मन्त्रालयले प्रस्ताव लैजाने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्। तर,ऊर्जा सचिव दिनेश घिमिरेले भने प्राधिकरणको कार्यकारी निर्देशकको प्रस्तावको सम्बन्धमा अहिलेसम्म मन्त्रालयले कुनै तयारी नगरेको स्पष्ट पारेका छन्। घिसिङको समयावधि सकिन एक साताभन्दा कम समय बाँकि रहँदा अहिलेसम्म कसैले पनि उम्मेदारी दाबी गरेको देखिँदैन।

कथित हल्ला बाहेक खुलेर कोही पनि आफ्नो दावी लिएर नआएका कारण पनि घिसिङको निरन्तरता तर्फ नै संकेत गएको स्रोतको भनाइ छ। प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं उपकार्यकारी निर्देशक हरराज न्यौपाने बहालवाला कर्मचारी बाट बलियो दाबेदार हुन्। प्राधिकरणका पूर्व कर्मचारी शान्तिलक्ष्मी शाक्य पनि कार्यकारी निर्देशकको दौडमा रहेको हल्ला छ। प्रसारणलाइन विज्ञ हितेन्द्र शाक्य, तत्कालीन विद्युतीय महसुल निर्धारण आयोगका अध्यक्ष डा. जगतकुमार भुसालको नाममा पनि दाबेदारी नसुनिएको होइन।

पछिल्लो समय प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले कुलमानको विरुद्घमा देखिएकाले उनी पनि त्यसका दाबेदार हुन् भन्ने बजारमा हल्ला छ। ‘प्राधिकरणका सबै कर्मचारीनै कार्यकारी निर्देशकमा घिसिङ सरको नै निरन्तरता होस् भन्ने चाहन्छन्। त्यही कारण पनि प्राधिकरण भित्रबाट अरु कसैको दाबेदारी नआएको हो’, स्रोत बताउँछ। सामाजिक सञ्जालले पनि खुलेर नै कुलमानको समर्थन गरिरहेको देखिन्छ। अन्नपुर्ण पोस्टमा खबर छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.