साग खेलकुद : शुक्रबार ५ पाँच कीर्तिमान सहित नेपाललाई ४१ स्वर्ण, गौरिकालाई दोस्रो पदक

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत विभिन्न प्रतिस्पर्धामा नेपालले ४१ वटा स्वर्ण पदक जितेको छ। शुक्रबार नेपालले पाँच स्वर्ण जित्यो, गल्फ, पौडी, भारोत्तोलन र एथलेटिक्समा स्वर्ण जितेको हो। गल्फमा एकल र समूहमा गरेर दुई स्वर्ण जितेको नेपालले शुक्रबार पौडी भारोत्तोलन र एथलेटिक्समा एकएक स्वर्ण जितेको हो।

गौरिकाको नयाँ कीर्तिमानमा दोस्रो स्वर्ण : १३औं दक्षिण एसियाली खेलकुदको पौडीमा नेपालका लागि गौरिका सिंहले दोस्रो स्वर्ण पदक जितेकी छन्। सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसर स्थित नवनिर्मित हिटिङ पौडी पोखरीमा शुक्रबार भएको महिला दुई सय मिटर ब्याकस्ट्रोक स्पर्धामा गौरिकाले स्वर्ण पदक चुमेकी हुन्। यसअघि बिहीबार उनले दुई सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण जितेकी थिइन्।

शुक्रबार गौरिकाले निर्धारित दूरी दुई मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन्। यो समय महिला दुई सय मिटर ब्याकस्ट्रोक स्पर्धाको नयाँ राष्ट्रिय कीर्तिमान पनि हो । गौरिकाले भारतीय खेलाडी राजीव मन्ना पटेललाई पछि पारिन्। रजत पदकमा खुम्चिएकी भारतीय खेला डीले निर्धारित दूरी पार गर्न दुई मिनेट २०.७१ सेकेन्ड समय खर्चिएकी थिइन्।

श्रीलंकाली खेलाडी गंगा मलवाथथांगेले कांस्य पदक हात पारिन्। उनले निर्धारित दूरी दुई मिनेट २७.२५ सेकेन्डमा पार गरिन् । शुक्रबार भएको अन्य स्पर्धामा नेपाली खेलाडीले पदक जित्न सकेनन् । महिला एक सय मिटर ब्रेस्टस्ट्रक स्पर्धामा नेपाली खेलाडी डुआना लामा चौथो भइन्। उनले अघिल्लो दिन रजत पदक जितेकी थिइन्।

एथलेटिक्समा गोपिचन्दको नयाँ रेकर्ड : गोपिचन्द पार्कीले शुक्रबार एथलेटिक्समा देशका लागि ऐतिहासिक स्वर्ण पदक जितेका छन् । १३औं साग अन्तर्गत एथलेटिक्सको पुरुष पाँच हजार मिटर दौडमा उनले स्वर्ण पदक चुमेका हुन् । सागको इतिहासिमा पाँच हजार मिटर दौडको उपाधि जित्ने उनी पहिलो नेपाली खेलाडी बनेका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गोपीले निर्धारित दूरी १४मिनेट ५४.२० सेकेन्डमा पूरा गरे। उक्त स्पर्धामा भारतीय खेलाडी सुनिल दावरले रजत पदक हात पारे। उनले निर्धारित दूरी पारगर्न १४ मिनेट ५५.२१ सेकेन्ड समय खर्चिए। कांश्य पदक भने नेपाली खेलाडी हरिकुमार रिमालको पोल्टामा पर्‍यो। उनले निर्धारित दूरी १४ मिनेट ५७.०५ सेकेन्डमा पूरा गरे। गोपीले पाँच हजार मिटर दौडमा पहिलो स्वर्ण जित्नु आफ्ना लागि खुसीको क्षण भएको प्रतिक्रिया दिए।

विकासको कीर्तिमानी स्वर्ण: नेपालका ३० वर्षीय विकास थापाले शुक्रबार भारोत्तोलनमा स्वर्ण पदक जिते। पाकिस्तानका खेलाडीले बिरामी भएर खेल त्यागेपछि थापाले बंगलादेशका खेलाडी मोहमद सकायत हुसेनसँग प्रतिस्पर्धा गरेका थिए। १२ औं सागमा रजत पदक जितेका थापाले शुक्रबार भने स्वर्ण जितेका हुन्। पोखराको माटेपानीमा भएको प्रतिस्पर्धामा थापाले ८९ केजी तौलसमूहमा कुल दुई सय ६९ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान भंग गरे।

यसअघि छनोट चरणमा थापाको नाममा स्न्याचमा एक सय २२ र क्लिन एन्ड जर्कमा एक सय ४२ गरी कुल दुई सय ६४ केजीको कीर्तिमान रहेको थियो। बंगलादेशका हुसेनले स्न्याचमा एक सय २३ र क्लिन एन्ड जर्कमा एक सय ४५ गरी कुल दुई सय ६८ केजी भार वहन गरे।

गल्फमा ऐतिहासिक दुई स्वर्ण: १३ साग गल्फमा नेपालले ऐतिहासिक दुई वटा स्वर्ण पदक जितेको छ। पार ७२ को गोकर्ण फरेस्ट गल्फ कोर्समा शुक्रबार सम्पन्न खेलमा नेपालले पु्रुष एकल र पुरुष टिम स्पर्धामा दुई स्वर्ण जितेको हो। साग गल्फमा नेपालले पहिलो पटक दुईवटा स्वर्ण पदक जितेको हो। गल्फको पुरुष एकलमा नेपालका लागि सुवास तामाङले स्वर्ण दिलाए।

टिम प्रतिष्पर्धामा सुवास सम्मिलित नेपाली टोलीले स्वर्ण चुम्यो। चार दिनको ७२ होलमा सु्वासले कुल १४ अन्डर दुई सय ७४ स्कोर खेलेका थिए। गल्फको अन्तिम दिन शुक्रबार सुवासले तीन अन्डर ६९ खेले । गल्फमा नेपाललाई ऐतिहासिक स्वर्ण जिताएका सुवास भर्खर बलब्वाईबाट आएका हुन्। रोयल नेपाल गल्फ क्लबमा बलब्वाईको काम गर्दै गल्फ सिकेका सुवासले छोटो समयमै गल्फमा छलाङ मारेका छन्।

सूर्य नेपाल टुरमा गत वर्ष प्रोफेसनल खेलाडीलाई हराएर उपाधि जिते पछि सुवास एकाएक गल्फमा छाए। त्यस पछि विभागीय टोली त्रिभुवन आर्मीमा करारमा अनुबन्ध भएका सुवासले गल्फमा थप निखारता ल्याए। दिन भर अभ्यास मै रमिरहने सुवासले एक वर्षको तयारी मै व्यक्तिगत र टिम स्पर्धा नेपालका लागि महत्वपूर्ण स्वर्ण जिताए। नेपालले आयोजक राष्ट्रको हिसाबले गल्फ खेल राखेको थियो।

नेपालले यसअघि नै ३६ स्वर्ण जितिसकेको छ। सागमा नेपालले शुक्रबारसम्म जितेको ४१ स्वर्ण ऐतिहासिक हो। अहिलेसम्म २२ स्वर्ण पदक महिलाले मात्र जितेका छन् । महिलाले तेक्वान्दो, कराँते र उसुमा बढी स्वर्ण जितेका छन्। सँगै साइक्लिङ, पौडी, ट्रायथलन र भारोत्तोलनमा नेपाली अब्बल देखिएका छन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.