सरकारले समृद्धिका लागि पाँच आधार तय गर्यो : मन्त्री पोखरेल

ललितपुर,२०मंसिर/ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको बताएका छन् ।

गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही नमूना मावि भवनको हस्तान्तरण कार्यक्रममा उनले सरकारले समृद्धिका लागि यी पाँच आधार तय गरेको बताए ।

सरकारी स्वामित्वका उद्योगहरु धराशायी हुनाका कारण खोजी गरिने बताउँदै उनले भने, ‘ती उद्योग कसरी धराशायी भए र आगामी दिनमा कसरी अघि बढ्ने भनी आत्मसमीक्षा हुनेछ।’ राजनीतिक विचारका आधारमा फरक धारणा राख्नेहरु पनि विकासका लागि एकजुट भएर लाग्नुपर्नेमा उपप्रधानमन्त्री पोखरेलको जोड छ ।

‘देशमा ७० प्राविधिक शिक्षा र ३० प्रतिशत सामाजिक शिक्षा हुने गरी योजना बनाइएको छ’, उनले भने, ‘एक्काइसौँ शताब्दीमा व्यावसायिक र व्यावहारिक शिक्षाको आवश्यकता छ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले भूकम्पका समयमा क्षतिग्रस्त भएका झण्डै सात हजार ५ सय विद्यालयको पुनर्निर्माण भएको बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.