
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् ।
बुधबार साँझ दाहालले देउवालाई फोन गरेर देउवा निवासमै पुगेको अन्नपूर्ण पोष्ट दैनिकले लेखेको छ । उनले देवालाइ भनेका थिए, ‘म तपाईं कहाँ भोलि बिहान चिया खान आउने छु ।’ देउवाले पनि दाहाललाई सहजै स्वागत गर्दै भने, ‘आउनुहोस्, सँगै बसेर चिया पिउँला ।’ बुधबार साँझको संवादपछि बिहीबार बिहान धनगढी जानुअघि दाहाल बूढानीलकण्ठ पुगेका थिए ।
बिहान सवा नौ बजेतिर बूढानीलकण्ठ पुगेका दाहाल र देउवाबीच झण्डै आधा घण्टा छलफल भयो । छलफलमा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी थिए । १२ असारमा ललितपुरको कुपन्डोलस्थित होटल समिटमा बेलुकी काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको पहलमा दाहाल र देउवाबीचमा एक्ला एक्लै गोप्य भेटवार्ता भएको थियो ।
त्यसयता यी दुई नेताबीच छुट्टाछुट्टै भेटघाट भएको थिएन । नेता लेखेकले बिहीबा बिहानको भेट सत्ता र प्रतिपक्षका नेताबीच सामान्य शिष्टाचार निर्माणका लागि भएको बताए ।