मन्त्रालयको अनौपचारिक आग्रहपछि बन्द गरिए भारतीय न्युज च्यानल

काठमाडौँ । भारतले नेपालको भूमि अतिक्रमण गर्दै सडक निर्माण गरेको जवाफमा नेपालले अ’तिक्रमित भूमिलाई समेट्दै नेपालको नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ । सम्बन्ध चिसिएसँगै भारतीय टेलिभिजन न्युज च्यानलहरु नेपालविरुद्ध नियोजित प्रपोगान्डामा उत्रिएका छन् । अनर्गल प्रचारका लागि आफ्नै देशमा बदनामी कमाएको भारतीय टेलिभिजन न्युज च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक समाचार प्रशारण गर्यो ।

समाचारको क्लिप सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि सरकारले बिहीबार बिहान टेलिभिजन सेवा प्रदायकहरुलाई अनौपचारिक रुपमा सिमित न्युज च्यानलहरु बन्द गर्न आग्रह गरेको थियो । सरकारको आग्रहपछि सेवा प्रदायकहरुले पनि स्वतःस्फूर्त रुपमा भारतीय टेलिभिजन न्युज च्यानलहरु बन्द गरेका हुन् । यद्यपि, सबै केबल टेलिभिजनहरुमा भारतीय न्युज च्यानलहरु बन्द भएका भने छैनन् ।

एक केवल टेलिभिजन सेवा प्रदायकले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘बिहान मन्त्रालयबाट नै केही भारतीय न्युज च्यानलहरु बन्द गर्नका लागि अनौपचारिक रुपमा आग्रह भएको थियो । जीन्युज, रिपब्लिक टिभीलगायत चारवटा न्युज च्यानललाई बन्द गरिदिनुहोला भनेर भनिएको थियो । त्यही आग्रहलाई स्वीकार गर्दै हामीले पनि न्युज च्यानलहरु बन्द गरेका हौँ ।’

यता, नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले महासंघले औपचारिक निर्णय गरेको नभइ भारतीय मिडियाको दादागिरी, विशेषतः प्रधानमन्त्रीका विरुद्ध गरेको अश्लिल प्रचारबाजीका विरुद्ध केबल टेलिभिजन सञ्चालकहरुले स्वतस्फूर्त रुपमा बन्द गरेको बताए ।

तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय न्यूज च्यानलको प्रशारण रोक्नेबारे मन्त्रालयलाई जानकारी नरहेको बताएको छ । मन्त्रालयले भारतीय न्यूज च्यानलले नेपालबारे घृणा फैलाउने गरी आपत्ति जनाउने सामग्री प्रकाशित गरेको जानकारी रहेको र यसबारे मन्त्रीले आफ्नो धारणा स्पष्ट पारिसकेको भन्दै न्यूज च्यानलको प्रशारण नै रोक्नेबारे कुनै जानकारी नरहेको स्पष्ट पारेको हो ।-रातोपाटी

Be the first to comment

Leave a Reply

Your email address will not be published.