१३ औँ साग : सावित्रा भण्डारीको ह्या ट्रिकमा नेपाली महिला फुटबल टिम फा इनलमा

काठमाडौं । आयोजक नेपाल पोखरामा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाभित्रको फुटबल मैदानमा विहिबार आफ्नो दोस्रो खेलमा नेपाल सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गरी लिग चरणको एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो ।

यसअघि श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको नेपालले शनिबार भारतविरुद्ध हुने लिगको अन्तिम खेल अगावै छ अङ्क जोड्दै फाइनलमा स्थान पक्का गरेको हो । नेपाललाई फाइनलमा पु¥याउने क्रममा भण्डारीले खेलको मध्यान्तरअघि दुई तथा पछि एक गोल गरी ह्याट्रिक पूरा गर्नुभयो ।

सावित्राले खेलको १८ औँ मिनेटमा अनिता बस्नेतको पासको सहयोगमा हेडमार्फत गोल गरी टोलीका लागि गोलको खाता खोल्नुभयो । पहिलो गोलको चार मिनेटपछि प्राप्त अवसरलाई सदुपयोग गरी भण्डारीले अग्रता दोब्बर पार्नुभयो ।

मध्यान्तरपछिको इन्जुरी समयमा विपक्षी खेलाडीले पेनाल्टी बक्समा भण्डारीलाई फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । सो अवसरलाई भण्डारीले खेर फाल्नुभएन र टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाउँदै फाइनलमा पु¥याउनुभयो ।

आयोजक नेपालसहित भारत, श्रीलङ्का र माल्दिभ्स गरी चार देशको सहभागिता रहेको प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा खेलाइएको थियो । प्रतियोगितामा श्रीलङ्का र माल्दिभ्सलाई पराजित गरेर छ अङ्क जोडेको भारतसमेत यसअघिनै फाइनलमा प्रवेश गरिसकेको छ ।

दुवै टोलीले फाइनलमा स्थान पक्का गरिसकेकाले शनिबार नेपाल र भारतबीच हुने लिग चरणको खेल औपचारिक मात्र हुनेछ । मङ्सिर २३ गते नेपाल र भारतका महिला फुटबल टिमले फाइनलमा स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन् ।

महिला फुटबलमा सावित्राको कीर्तिमान

नेपाली महिला फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारीले महिला फुटबलमा सर्वाधिक गोल सङ्ख्याको कीर्तिमान कायम गर्नुभएको छ । विहिबार माल्दिभ्स विरुद्धको खेलमा ह्याट्रिक गरेसँगै भण्डारीले नेपालका पूर्वकप्तान अनु लामासँगको ३५ अन्तर्राष्ट्रिय गोलको बराबरी तोडेर नयाँ कीर्तिमान कायम गर्नुभएको हो । यससँगै भण्डारीको अन्तर्राष्ट्रिय खेलमा गोल सङ्ख्या ३८ पुगेको छ ।

गोल सङ्ख्यामा कीर्तिमान राखे पनि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि हासिल नगराउँदासम्म आफ्नो सपना साकार नहुने भण्डारीको भनाइ छ । नेपाल महिला फुटबलमा हालसम्म खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भारतसँग पराजित हुँदै उपाधिबाट विमुख हुँदै आएको छ ।

सागमा नेपालको मुख्य प्रतिस्पर्धी रहेको भारतलाई घरेलु मैदानमा पराजित गरेर स्वर्ण पदक जित्ने भण्डारीको लक्ष्य छ । उहाँ भन्नुहुन्छ, “मैले नयाँ कीर्तिमान कायम गरेको छु तर देशलाई उपाधि हासिल नगराउँदासम्म त्यसको सार्थकता छैन । प्राप्त अवसरलाई सदुपयोग गर्दै टोलीलाई उपाधि दिलाउन म लाग्नेछु ।”

जारी प्रतियोगिताको पहिलो खेलमा श्रीलङ्का विरुद्ध गोल गरेर कीर्तिमान कायम गर्ने लक्ष्य पूरा नभए पनि प्राप्त अवसरले औधी खुशी लागेको उहाँको भनाइ छ ।-केन्द्रबिन्दु बाट

8 Comments

Leave a Reply

Your email address will not be published.