झण्डै ६४ वर्षपछि कान्ति लोकपथ निर्माण कार्यले पूर्णता पाउँदै

काठमाडौं । झण्डै ६४ वर्षपछि कान्ति लोकपथ निर्माण कार्यले पूर्णता पाउन थालेको छ । तत्कालीन राजा महेन्द्रले २०१३ सालमा शिलान्यास गरेको सो राजमार्गको निर्माण काम देशमा गणतन्त्र आइसकेपछि मात्र शुरु भएको थियो । अहिले त्यसको निर्माण कार्य ८० प्रतिशत पुरा भएको छ ।

२०१३ सालदेखि शुरू भएर सुस्ताएको सडक विस्तारको कामलाई पहिलो संविधानसभा चुनावपछि स्तरोन्नति गर्नका लागि बहस सुरु भएको थियो । त्यसलगत्तै ०६५–६६ देखि सो सडकको निर्माण कार्य आरम्भ भएको थियो । आर्थिक वर्ष ०७१/७२ मा सरकारले राष्ट्रिय राजमार्गसँग जोड्ने गरी कान्ति लोकपथलाई बहुवर्षीय योजनाको रूपमा बजेट छुट्याएपछि स्तरोन्नतिको काम अगाडि बढेको हो । सरकारले यो लोकपथलाई काठमाडौंसँग जोड्ने वैकल्पिक राजमार्गको रुपमा लिएको छ ।

यो सडक निर्माण भएर सञ्चालन आएपछि काठमाडौंदेखि हेटौंडासम्मको यात्रा ३ घण्टामा पुरा हुन्छ । ललितपुरको सातदोबाटो (चापागाउँ दोबाटो) हुँदै सुनाकोठी, चापागाउँ, टीकाभैरव, तीनपाने भञ्ज्याङ, झाँक्रीडाँडा,छपेली, काल्चे, बाग्मती नदी, बगुवा, ठिंगन, मकवानपुरको आले भञ्ज्याङ, बुद्धचोकसम्म (९२ किमि) ३ घण्टामा पुग्न सकिन्छ ।

हेटौँडा, नारायणगढ, मुग्लिन, नागढुंगा हुँदै थानकोटसम्मको दूरी २२२ किलोमिटर छ । कान्ति लोकपथ निर्माणपछि यो दूरी ९२ किलोमिटर हुन जान्छ । हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्मको ९२ किमि. सडकखण्ड स्वदेशी लगानीमा निर्माण भइरहेको यो पहिलो राजमार्ग हुनेछ । सडकको कूल दुरी ९२ किमि रहेपनि कान्ति लोकपथ योजनाले मकवानपुर ५१ कि.मि. र ललिपतुर २८ कि.मि. गरी जम्मा ७९ किमि सडक निर्माणको जिम्मा मात्र पाएको छ । सातदोबाटोदेखि टिका भैरवसम्मको बाँकी १३ किमि सडक निर्माणको जिम्मेवारी भने डिभिजन सडक कार्यालय र उपत्यका सडक विस्तार आयोजना अन्र्तगत रहेको छ ।

लकडाउन र पहिरो
विश्व माहामारीको रुपमा देखिएको कोभिड–१९ का कारण सरकारले लगाएको लकडाउनले गर्दा लक्ष्य अनुसारको काम हुन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए । मन्त्रालयले लकडाउनको अवधिमा करिब ५०/६० वटा पुल निर्माण गरेको छ ।

सडक चौडा, कालोपत्रेलगायतका सुधारका लागि विभिन्न ८ ठेकेदार कम्पनीसँग बहुवर्षीय ठेक्का प्रणालीअनुसार सम्झौता गरी काम गरिरहेको छ । अहिले सडक कालोपत्रे गर्ने, चौडा गर्ने, सडकको संरचना तयार पार्ने, ग्राबेलिङ गर्नेलगायतका काम योजनाले एकैसाथ अगाडी बढाएको छ ।

०७६ को वैशाखदेखि पूर्ण रुपमा सञ्चालनमा आउने भनिए पनि विभिन्न कारण देखाउँदै सञ्चालनमा आएको थिएन । भौगोलिक समस्याका कारण सडक खण्डमा पहिरो जाने हुँदा बेलाबेलामा निर्माण कार्यमा समस्याहरु उत्पन्न हुने गरेको छ । अधिकांश ठाउँ भूगर्भिक दृष्टिकोणले अति नै कमजोर र पहिरोग्रस्त क्षेत्र रहेको हुनाले कालोपत्रे गर्न त्यति सहज भने छैन । यो सडक ललितपुरको तीनपाने, नयाँ गाउँ, झाँक्रीडाँडा, हुपेली काल्चेभीर, तामाखानी र मकवानपुरको प्रतापडाँडा, ढिङ्गान, मकवानपुरगढीमा प्रत्येक दुई/तीन सय मिटरमा अत्याधिक पहिरो जाने गरेको छ ।

मुआब्जाका कारण सडक साँघुरो

मुआब्जाका कारण सडक साँघुरो बनेको छ । चलनचल्तीको मुआब्जा भन्दा कैयौं गुणा बढी मुआब्जा स्थानीयले माग गरेपछि राज्यले सो मुआब्जा दिन नसकेका कारण जस्तो सडक बन्नु पर्ने हो त्यस्तो बन्न सकेको छैन् । स्थानीयको रुचिअनुसार सडक कालोपत्रे गरिएको छ । तर, यसले दीर्घकालीन समस्या निम्तिने देखिन्छ ।

सामान्य अवस्थामा यस सडकको चौडाइ दुई लेनको रहे पनि भौगोलिक रूपले साँघुरो भएका ठाउँमा यसको चौडाइ ‘इन्टरमिडियट साइज’ को अर्थात् ‘डबल लेन’ र ‘सिङ्गल लेन’ को बीचमा रहने भएको छ । यस योजनाले ८० प्रतिशत भौतिक प्रगति हासिल गरिसकेको छ । यस योजनाको बजेट ३ अर्ब ३५ करोड रहेको छ ।

अहिलेसम्म २ अर्ब ६० करोड खर्च भइसकेको छ । सडक निर्माणको लागि योजनाले ८ वटा ठेक्का लगाएर काम गरिरहेको छ । विश्व महामारीको रुपमा देखिएको कोभिड–१९ का कारण सडक निर्माणमा केही बाधा परेको भएपनि लकडाउनको अवधिमा स्थानीय कामदारको प्रयोग गरेर ६ किमि कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ । मकवानपुर जिल्लाको पुरै भाग सडक निर्माण भइसकेको छ भने ललितपुर जिल्लाको केही भाग निर्माण हुन बाँकी रहेको छ ।
स्थानीयलाई सहज

बाटो विस्तारले गर्दा स्थानीयलाई आवत जावत गर्न, विद्यालय, कलेज, अस्पताल र कृषि उपजलाई बजार पु¥याउन सजिलो भएको छ । पहिला बाटो साँघुरो हुँदा बढी दुर्घटना हुने गरेको थियो भने अहिले बाटो चौडा भएपछि दुर्घटनामा कमी आएको छ । सडक निर्माण सँगै पर्यटनको सम्भावना पनि बढेको छ । यो सडकले ललितपुर र मकवानपुरका जनताको लागि महत्वपूर्ण भूमिका खेलेको छ । यो सडकमा कतै कतै कालोपत्रे भइसकेको छ भने कतै हुनेक्रममा छ ।

स्थानीय सरकारले सडक निर्माण कार्यलाई सहजीकरण गरकोे देखिन्छ । सडकको सुविधा भएपछि कृषिलाई व्यवसायीकरण गर्नेतर्फ यहाँका स्थानीयको ध्यान जान थालेको छ । सडक निर्माण भएपछि अहिले गाउँ–गाउँ र घरघरसम्म यातायातका साधन पुग्न थालेका छन् । सडक नहुँदा किसानलाई आफ्नो उत्पादन बजारसम्म पु¥याउन घण्टौं हिँड्नुपथ्र्यो भने अहिले सजिलै बजार पुग्न सकिन्छ । हिउँदमा धेरै सजिलो भएपनि वर्षा याममा पहिरो जाने गरेको हुँदा अलि कठिन हुने गरेको स्थानीय बताउँछन् ।

कान्ति लोकपथ बनिसकेपछि ललितपुरको दुर्गम दक्षिणी–पूर्वी भेग र मकवानपुरका उत्तरी भेगका बासिन्दाको जीवनशैली परिवर्तन हुने विश्वास गरिएको छ । कृषि र पर्यटकीय क्षेत्रको विकास भई आर्थिक गतिविधिमा पनि यसले योगदान पुग्ने अपेक्षा गरिएको छ । उत्तर दक्षिण लिंक काठमाडौं–निजगढ द्रूतमार्ग, पूर्व–पश्चिम रेलमार्ग, निजगढ विमानस्थल, सिमरा नजिक बन्ने विशेष आर्थिक क्षेत्रमा सहयोग पु¥याउन सक्ने जानकारहरू बताउँछन् । -रातोपाटी

Be the first to comment

Leave a Reply

Your email address will not be published.