क्वारेन्टाइनबाट घर फर्काइएकाहरूमा कोरोना पुष्टि, लापरवाहीले समाजमा जोखिम बढ्दै

हिक्मत रावल/कैलाली, १३ असार । कैलालीका विभिन्न क्वारेन्टाइनमा रहेकाहरुलाई कोरोना नमूना परीक्षणको रिपोर्ट नआउँदै घर पठाउने काम धमाधम जारी छ । यही क्रममा गौरीगंगा नगरपालिका वडा नं ६ मा रहेको क्वारेन्टाइनबाट पनि ठूलो संख्यामा मानिसहरुलाई शुक्रबार (हिजाे) घर पठाइए लगत्तै पाँच जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

रिपोर्ट पोजिटिभ आएपछि उनीहरुलाई घरबाट फिर्ता ल्याएर पुनः क्वारेन्टाइन राखिएको छ । यो घटनाका विषयमा गौरीगंगा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक इश्वरीप्रसाद भुषालले भने–‘खै यो कसरी भयो, हामीले नमूना परीक्षण गरेका मध्ये ४८ जनाको रिपोर्ट पोजिटिभ आयो भनेर पठाएका थियौ । वडा कार्यालयले बाँकीको रिपोर्ट नेगेटिभ आयो भनेर पठायो वा उनीहरु आफै गए थाहा भएन ।’

यो घटनाले गम्भीर लापरवाही भइरहेको तथ्य उजागर गरेको छ । गौरीगंगा नगरपालिकाका नगर प्रमुख भीम देउवाले घर फर्किएका उनीहरुलाई दोस्रो दिन फेरि क्वारेन्टाइनमा राखिएको बताए । नगरपालिका अहिलेसम्म १ सय ५ जनामा कोेरोना संक्रमण देखिएको छ ।

रिपोर्ट नआउँदै घर पठाउने कार्यले घर परिवार, गाउँ समाजमा जोखिम झन बढ्दै गएको स्थानीयहरु बताइरहेका छन् । सुदूरपश्चिममा एक हजार ६ मा कोराना संक्रमण पुष्टि भइसकेको छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.