कोरोनालाई जित्दै पाल्पाली, ५ जना निको भएर घर फर्किए

सुमन कार्की/पाल्पा, ६ जेठ । पाल्पामा कोरोना संक्रमितहरूको संख्या दिन-प्रतिदिन वृद्धि हुँदै गैरहेको छ भने निकोहुनेहरु समेत बढेका छन् ।
जिल्लाको तानसेनमा मिसन अस्पतालले तयार गरेको वृद्धाश्रमको आइसोलेशनमा रहेका ३ जना र लुम्बिनी मेडिकल कलेजको कोभिड सेन्टरमा रहेका २ जना गरी ५ जना निको भएर घर गएका छन् ।

संक्रमित ५ जनाकै दोस्रोपटकको पीसीआर फलोअपका क्रममा नेगेटिभ रिपोर्ट आएको र उनीहरुमा कुनै पनि कोभिड-१९ को लक्षण नदेखिएको तथा अवस्था सामान्य रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्व न्यौपानेले जानकारी दिए ।

निको भएका सबैलाई घरमा गएर एक हप्ता होम क्वारेन्टाइनमा बस्न र कुनै समस्या भएमा अस्पताल आउन सुझावसहित घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ ।

पाल्पामा हालसम्म ७० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लोपटक बगनासकाली गाउँपालिका अन्तर्गतका विभिन्न क्वारेन्टाइनमा रहेका १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै पाल्पा जिल्लाका दश स्थानीय तहमध्ये नौ स्थानीय तहमा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिकामा बाहेक सबै स्थानीय तहमा काेरोना देखिएको हाे ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्ति रहेका छन् । उनीहरु सबैजना भारतबाट आएका हुन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

अहिलेसम्म कोरोना संक्रमीत मध्ये १ जनाको मृ त्यु भएको छ भने ५ जना निको भएका छन्, कोरोना संक्रमितमध्ये निको हुनेकाे संख्या बढ्दै जाँदा अन्य आइसोलेशनमा रहेका संक्रमितमा समेत हौसला थपिएकाे छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.