खेलकुदको बजेट संरचना निर्माणमा केन्द्रित

हेटौंडा : खेलकुद विकासको क्षेत्रमा बाग्मती प्रदेश सरकारले विनियोजन गरेको बजेट खेलकुदको भौतिक संरचना निर्माणमा केन्द्रित हुने भएको छ। यसअघि सरकाले खेलकुद क्षेत्रमा कम लगानी गरेको भनी आलोचना हुँदै आएको थियो। तर, कोरोना भाइरसको महामारीले मुलुक

अप्ठ्यारो स्थितिमा रहँदा पनि आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले खेलकुद क्षेत्रका लागि उल्लेख्य बजेट विनियोजन गरेको छ।खेलकुद क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा बाग्मती प्रदेश सरकारले ७९ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सरकारले बहुवर्षीय तथा क्रमागत योजनाहरूको निरन्तरता, खेल मैदान निर्माण, स्थानीय खेल प्रवद्र्धन र खेलाडीको क्षमता अभिवृद्धि कार्यक्रममा जोड दिएको छ खेलकुदलाई शिक्षापछिको संवेदनशील क्षेत्र मानिएको छ। महामारीका कारण खेलकुद प्रतियोगिता तथा अन्य काम गर्न समस्या आए पनि खेलकुदको बजेट विशेष गरी संरचना निर्माणमै केन्द्रित गरिने बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए।

सदस्यसचिव भण्डारीले भने, ‘प्रदेश संरचना नयाँ भएकाले खेलका संरचना बनाउनुपर्ने आवश्यकतालाई ध्यान दिइएको छ।’ कोरोना भाइरसको महामारीका कारण बजेट कार्यान्वयनमा आउन सक्ने चुनौतीबारे पनि आफूहरू सचेत रहेको उनले बताए। ‘वर्षभरिका लागि ल्याइएको बजेट हो। सुरुमा संरचना निर्माणमा लाग्छौं, दोस्रो चौमासिकपछि मात्रै प्रतियोगिता आयोजनामा ध्यान दिने योजना छ’, उनी भन्छन्।

यसैगरी चर्चित फुटबल खेलाडी रञ्जन विष्ट पनि सरकारले खेलकुद क्षेत्रका लागि राम्रो बजेट विनियोजन गरेको बताउँछन्। ‘खेलकुद क्षेत्रले राम्रो बजेट पाएको छ। परिवर्तन जरुरी पनि थियो’, उनी भन्छन्, ‘हिजोको पुस्ता खेलेर बाँच्न सकिन्न भन्थ्यो। आज खेलाडीलाई दुई छाक खान गाह्रो छैन। खेलेर बाँच्न सक्ने वातावरण भएको छ। प्रदेश सरकारले खेलकुदलाई छुट्ट्याएको सबै बजेट इमानदारीसाथ खेलकुद विकासमै खर्च भइदिए हुन्थ्यो।’

बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालका अनुसार प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याएको छ। ‘खेल क्षेत्रको स्पष्ट योजना, नीति निर्माणमा अग्रसरता तथा खेलकुद परिषद् र अन्य खेलकुद समितिहरू बनाउन पनि हामी अगाडि छौँ। त्यसैले संघ र अन्य प्रदेशको तुलनामा यहाँ खेल क्षेत्रमा बजेट राम्रो छ’, मन्त्री दुलाल भन्छन्।

1 Trackback / Pingback

  1. keto zucchini bread

Comments are closed.