भुटानमा यसरी लेखियो सफलताको कथा, कोरोनाबाट गएको छैन कसैको ज्यान

एजेन्सी । लोटेन जाङमो गत १३ अप्रिलमा भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिन्, यतिबेला कोरोना भाइरसको संक्रमण रोकथामका लागि विश्वका धेरै देशमा लकडाउन थियो ।

देश फर्कन पाउँदा खुसी भएपनि आफ्नो भविष्यलाई लिएर यी २२ वर्षीया विद्यार्थी चिन्तित थिइन् । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण रोकथामका लागि भारतको पञ्जाव राज्यस्थित आफ्नो कलेज बन्द हुनभन्दा केही दिनअघि मात्रै उनले महामारीबारे सुनेकी थिइन् ।

सुरुवातमा उनले यो महामारी धेरै लामो नजाने सोचेकी थिइन् । तर, भारत सरकारले अवस्थासँग लड्न लकडाउन लम्ब्याउँदै गयो । विश्वविद्यालयमै अलपत्र परेका धेरै विदेशीमध्ये लोटेन एक थिइन् । उनीहरु दिल्लीस्थित भुटानी दूतावासको सम्पर्कमा पुगेपछि सरकारले सुरक्षित साथ घर फर्काउनका लागि फ्लाइटको व्यवस्था ग¥यो ।

‘जब हामी पारो विमानस्थल आयौं, अधिकारीहरुले हामीलाई मास्क दिए र अन्य स्वास्थ सुविधा उपलब्ध गराए । उनीहरुले हामीलाई सिधैं एयरपोर्टबाट क्वारेन्टिन लगे,’ लोटेनले भनिन् ।

मध्य–मार्चमै भुटानी अधिकारीहरुले विदेशबाट घर फर्कनेहरुका लागि २१ दिने अनिवार्य क्वारेन्टिन अवधिको व्यवस्था गरेका थिए । ‘जब देशमा पहिलो कोभिड–१९ संक्रमण देखियो, हामीले केही घण्टामै संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्यौं,’ विश्व स्वास्थ संगठनका भुटानस्थित प्रतिनिधि रुई पाउलो डि जेससले भने ।

शुक्रबारसम्म भुटानमा संक्रमितको संख्या ६२ मा सीमित छ र कसैको मृत्यु भएको छैन ।

‘भुटानको स्वास्थ मन्त्रालयले सुरुदेखि नै तीव्र रुपमा राम्रो प्रतिक्रिया देखाएको थियो, भुटानले कोभिड–१९ लाई किनारामा राख्नुको कारणमध्ये यो एक हो,’ डि जेससले भने,‘ अहिले कुनै पनि देशले विजय घोषणा गर्नसक्ने अवस्था छैन । कोभिड–१९ विरुद्धको लडाँइ जारी छ र यो लामो युद्ध हुनेवाला छ ।’ जेससका अनुसार सरकारी अधिकारी र सर्वसाधारणबीचको माथिल्लो स्तरको विश्वास कोरोनाविरुद्धको लडाइँमा काम आएको छ । भुटानका प्रधानमन्त्री लोटेइ छिरिङ र स्वास्थमन्त्री डिचेन वाङमो दुबैसँग जनस्वास्थको पृष्ठभूमि छ ।

‘आपतकालीन तयारी र संक्रामक रोगको महामारीपछिको प्रतिक्रियाका आम मान्यता नीति–निर्माताहरुले बुझेका छन् । उनीहरुले विश्व स्वास्थ संगठनको प्राविधिक निर्देशिका बुझेका छन् । नतिजा, निर्णयहरु वैज्ञानिक तथ्यमा आधारित रहेर गरिन्छ, यो निकै ठूलो फाइदा हो,’ जेससले भने ।

सामूदायिक एकता
हिमालको काखमा रहेको भूपरिवेष्ठित राष्ट्र भुटान दक्षिण एशियाकै सर्वाधिक आइसोलेटेड देशमध्ये एक हो । यस देशका अधिकारीहरु वातावरण संरक्षणमा चनाखो छन् र उनीहरुले दशकौंदेखि सीमित पर्यटकहरुलाई मात्रै देशमा छिर्ने अनुमति दिएका छन् । भुटानमा कोरोना भाइरसको संख्या कम हुनुको एक कारण यो पनि हुनसक्छ ।

भुटानमा जनसंख्या पनि निकै कम अर्थात् झन्डै ७५ लाख छ । सानो जनसंख्यासँगै राष्ट्रिय एकताको भावनाले पनि भुटानलाई सुरुवातमा महामारी फैलनबाट जोगायो ।
‘मानिसहरुले सरकारलाई समर्थन र आर्थिक सहयोग दुबै दिए,’ जेससले भने ।

लोटेनले क्वारेन्टिनमा बस्दा मानिसहरुले आफूलाई निकै सहयोग गरेको बताइन् । उनीहरुले सामाजिक सञ्जालमार्फत समर्थन जनाउँदै म्यासेज पठाएको र मनोबल उच्च बनाउन सहयोग गरेको लोटेनको अनुभव छ । ‘यो आसपासमा रहेका व्यक्तिहरु निकै सहयोगी थिए । नचिनेका व्यक्तिहरुले पनि सहयोगको चाहना व्यक्त गर्थें,’ उनले भनिन् ।

‘अगाडि बढ्नका लागि सरकारले दीर्घकालीन स्वास्थ प्रणालीमा लगानी गर्नु जरुरी छ र कुनै पनि जनस्वास्थ संकटमा प्रतिक्रिया देखाउन सक्नेगरी हुनुपर्छ । यदी संक्रमित संख्या बढ्यो भने हामी समयमै सही तरिकाले प्रतिक्रिया जनाउन सक्छौं त ?’ डि जेससको प्रश्न छ ।

र, जवाफ पनि उनीसँगै छ, ‘अति खराब परिस्थितिका लागि सम्भावित योजना विकास गरिएको छ र कार्यान्वयनका लागि यो तयार छ ।’-रातोपाटी

Be the first to comment

Leave a Reply

Your email address will not be published.