भारत, चीन र अमेरिकामा मात्रै दूतावास राख्न सांसद गिरिको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले भारत, चीन र अमेरिकामा मात्रै नेपालको दूतावास राख्न सुझाव दिएका छन् ।

विभिन्न मन्त्रालयमाथि विनियोजित बजेटमाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा नेता गिरिले अन्य देशमा राजदूतावास नराखेर खर्च कटौती गर्नुपर्ने बताए ।

‘हाम्रो देशलाई काम लाग्ने देश मन पराए पनि नपराए पनि हिन्दुस्तान हो, चीन हो अमेरिका हो’ गिरिले भने, बाँकी मुलुकमा कुनै समय राजालाई हर सयरपिच्छे दरवार चाहिए जस्तै, अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने काम छैन ।’

गिरिले अगाडि भने, ‘सानो ब्रसेल्सले सिंगो युरोप चलाउन सक्छ । साउदी अरेबियामा मजदूर जान्छन ठीक छ । त्यो खर्च कटौती गर्नुहोस् ।’

कार्यकर्तालाई नियक्ति दिन मात्रै राजदूतावास राख्नुको औचित्य नरहेको उनको भनाइ छ । ‘कुटनीतिका विषयमा हामीले बुद्धि पुर्याइरहेका छैनौं । कुटनीतिक ढङ्गले गर्नुपर्ने कामको साटो विदेशको नियुक्तिलाई कार्यकर्ता पाल्ने बनाएका छौं ।’

उनले श्रीलंकाका लागि पूर्वराजदूत विशम्भर प्याकुरेलको अन्तर्वार्ता हेर्न र प्रधानमन्त्रीलाई सुनाइदिन आग्रह गरे ।

‘श्रीलंकामा विश्वम्भर प्याकुरेललाई एक नियुक्त गरिएको थियो । उनी एक वर्ष पछि फर्किएर आई विराट टिभीमा बोलेका छन् । रुँदै भनेका छन्– केवल यस्ता फजुलका राजदूतावास नबनाउनुस्, सार्थक कुटनीति चलाउनुस् । दुई मिनेटमा हेरेर प्रधानमन्त्रीलाई यो सुनाइदिनुहोला । उहाँ (प्रधानमन्त्री)मा दक्षता छ, सल्लाहकार ठीक भएनन्’ गिरीले भने ।-अनलाइन खबर

4 Comments

Leave a Reply

Your email address will not be published.