उपचारका लागि पुगेका काेराेना सं,क्रमितहरू रातभरि अस्पतालबाहिरै, अझै टुंगाे लागेन

तारा आचार्य

विराटगनर, १७ जेठ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालले संक्रमितहरूलाइ भर्ना नलिएपछि उनीहरू रातभर बाहिरै बस्न बाध्य भएका छन् । यसकाे व्यवस्थापनबारे बुझ्न बिहानै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे आफै अस्पतालमा जानुभएको छ ।

तर उपचार प्रक्रिया थाल्नेबारे अझै टुंगाे लागेकाे छैन । मन्त्री पुगेपछि अस्पतालमा बैठक चलिरहेकाे र छलफल जारी रहेकाे बताइएकाे छ ।

प्रतिष्ठानको कोभिड विशेष अस्पतालमा शुक्रबार झापाबाट आएका २७ जना कोरोना संक्रमितलाई भर्ना नगरेपछि उनीहरू रातभर गाडीमै बाहिर पार्किङमा बसेका थिए । गए राति ११ बजे अस्पताल आइपुगेका उनीहरु रातभरि अस्पतालको पार्किङस्थलमा बस्न बाध्य भए, बिहानदेखि पनि त्यही छन् ।

झापामा शुक्रबार पुष्टि भएका २७ जना उपचारको लागि धरान आएका हुन् । उनीहरुलाई सबै कुराको व्यवस्था छ भनेर ल्याइएको हो । तर केही व्यवस्था नभएका कारण संक्रमितहरु झन पीडित बनेका छन् । अस्पतालको लार्पवाहीका कारण रातभर बाहिर बस्नुपर्ने अवस्था आएको उनीहरूकाे गुनासाे छ ।

प्रदेश सरकारले धरानमा १५० बेडको कोरोना उपचार गर्ने कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । यसलाई विस्तार गर्दै लैजाने र एक हजार बेडसम्म बनाउने प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीले बताउदै आउनुभएको थियो ।

सो अस्पतालमा यसअघि पनि झापाबाट २७ जनालाई ल्याइएको थियो । उनीहरुलाई पनि कोभिड अस्पतालमा नराखेर पेईङ वार्डमा राखिएको छ । अस्पतालले भने सामग्रीको अभाव देखाउँदै आएको छ ।

संक्रमितहरु सवै भारतबाट आएर झापा कचनकवलमा रहेको क्वारेन्टाइनमा बस्दै आएका थिए ।प्रदेश १ मा भारतबाट नेपाली आउन थालेपछि संक्रमितको संख्या बढ्दै गएको छ । झापामा मात्र १०७ जना संक्रमितहरु छन् भने प्रदेश- १ का ८ जिल्लामा गरी १५७ संक्रमितहरु रहेकाेमा ३० जना निको भएर घर फर्किएका छन् ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.