बजेट : शिक्षाकाे ८ अर्ब बढ्यो, खेलकुदकाे डेढ अर्ब घट्यो

काठमाडौं, १६ जेठ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा एक खर्ब ७१ अर्ब ७१ करोड विनियोजन गरिएको छ । यो रकम चालू आर्थिक वर्षभन्दा करिब आठ अर्ब बढी हो ।

आगामी वर्षका लागि संघीय संसदमा बजेट प्रस्तुत गर्दै डा। युवराज खतिवडाले आगामी वर्षका लागि शिक्षातर्फ १ खर्ब ७१ अर्ब बजेट विनियोजन गरेको जानकारी दिनुभयो । चालू वर्षका लागि यस्तो बजेट १ खर्ब ६३ अर्ब विनियोजन गरिएको थियो ।

कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवाखाजा, राष्ट्रपति शैक्षिक कार्यक्रम, स्यानिटरी प्याडलगायत कार्यक्रममा बजेट वृद्धि गरिएको छ । तर, छात्रवृत्तिको रकम भने घटाएको छ ।

चालू आर्थिक वर्षमा विपन्न, अपांगतालगायत विभिन्न शीर्षकमा विद्यालय तहको छात्रवृत्तिका लागि तीन अर्ब १९ करोड रकम विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि भने दुई अर्ब ७० करोड मात्रै छुट्याइएको छ ।

खेलकुदकाे बजेट डेढ अर्ब घट्यो

आर्थिक वर्ष २०७७/७८ का लागि सार्वजनिक गरेको बजेटमा सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँ छुट्याएको छ ।

खतिवडाले बिहीबार सार्वजनिक गरेको यो बजेट खेलकुद मन्त्रालयका लागि चालू आर्थिक वर्षमा छुट्याइएको भन्दा १ अर्ब ६३ करोड कम हो । सरकारले चालू आर्थिक वर्षका लागि ३ अर्ब ९९ करोड बजेट छुट्याएको थियो। यो रकम १३औं दक्षिण एसियाली खेलकुद बाहेकको हो।

चालू आर्थिक वर्षमा पनि सरकारले बजेट घटाएको थियो। ०७५/७६ को बजेटमा युवा तथा खेलकुद मन्त्रालयलाई ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ छुट्याइएको थियो ।

4 Comments

Leave a Reply

Your email address will not be published.