क्वारेन्टाइनमा बस्नेहरूलाई छैन खानाको व्यवस्था, घरबाटै ल्याउनुपर्छ

घनश्याम मिश्र

महोत्तरी, १३ जेठ । जलेश्वर नगरपालिका- ३ खैरा प्रावि स्कुलमा बनाइएकाे क्वारेन्टान्मा पाँच दिनपहिले भारतकाे दिल्ली लगायत स्थानबाट झन्डै ३० व्यक्तिहरु आएर बसिरहेका छन् । तर उनीहरुलाई सरोकार वालाले ध्यान नदिएपछि क्वारेन्टाइनमा बस्न समस्या भएकाे गुनासाे बढिरहेछ ।

मापदण्ड विपरीत बनेको उक्त प्रावि भवनको क्वारेन्टाइनमा खान र बस्न समस्या रहेको स्थानीय युवा चन्दन तिवारीले न्यूज २४ लाई जानकारी दिएका छन् । चन्दनका अनुसार मेयर र वार्ड अध्यक्षले व्यवस्थापनमा ध्यान नदिएका कारण बाहिरबाट गाउँ फर्केकाहरुलाई समस्या परेको हो ।

हाल क्वारेन्टाइनमा रहेकाहरुलाई आफ्नो घरबाट नै खाना, खाजा र लुगाफाटाेहरु समेत जाने गरेकोले संक्रमण गाउँ-परिवारसम्मै फैलने सम्भावना प्रवल रहेको भन्दै युवा तिवारीले आक्रोश व्यक्त गरे ।

तिवारीका अनुसार बारम्बार स्थानीय प्रशासन र वार्ड अध्यक्षसहित मेयर समेतलाई जानकारी गराइसक्दा पनि क्वारेन्टाइन व्यवस्थापनमा कसैले चासाे दिएनन् । भारतबाट आएकामध्ये ३ जनामा कोरोना संक्रमण देखिएकोले पाँच दिनपूर्व नै उनीहरुलाई आइसोलेसनमा राखिएको छ ।

यता, स्थानीय सरकारसँग क्रुद्ध भएका वार्ड ३ का बासिन्दा भन्छन्, ‘खाना र आवासको राम्रो व्यवस्थापन गर्न नसकेको सरकारले कम से कम टेस्ट त समयमा गराइदिँदा हुन्थ्यो नि ।’

यदि घरबाट नै सबै थोक जाने हो भन्ने कोरोन्टाइनमा बस्नुको के अर्थ ? प्रश्न गर्दै स्थानीयले न्यूज २४ लाई तत्काल समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

के भन्छन् वडाध्यक्ष ?

वडा अध्यक्ष सञ्जय पाण्डेयसँग क्वारेन्टाइनकाे व्यवस्थापकीय त्रुटिबारे प्रश्न गर्दा उनले आफूहरु आजदेखि खाना-खाजा सबैका लागि व्यवस्थापन गर्न लागेको बताए ।

उनले भने, ‘भारतबाट फर्केकाहरूलाइ ‘होम स्टे’को रुपमा घरभन्दा बाहिर नै राखेका थियौँ । खाना खाजा सबै घरबाट नै ल्याउने गरेका थिए । तर अहिले आएर गाउँलेले विरोध गर्न थालेपछि आजदेखि हामीले सबै व्यवस्थापन अब उक्त स्थलमा नै गर्न लागेका छाैँ ।’ पाण्डेयले उक्त विद्यालय क्वारेन्टाइन नभएर होम स्टे जस्तै भएकाे बताए ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.