
काठमाडौं, ६ जेठ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतलाई नेपालमा सामेल गरेर प्रकाशित गरेको नयाँ नक्साको स्वागत गर्दै यस्का लागि नेपाल मसाल पार्टीले सरकारलाई धन्यवाद दिएको छ ।
मसालका महामन्त्री मोहनविक्रम सिंहले एक विज्ञप्ती जारी गर्दै सरकारले यही प्रकारले सीमासम्बन्धी अन्य विवाद तथा कालापानीमा कब्जा गरेर बसेको भारतीय सेनालाई नेपालको भूमिबाट हटाउन पनि साहसिलो कदम उठाउनुपर्ने आवश्यकतामा जोड दिनु भएको छ ।
उहाँले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेतबारे भारतसित प्रभावशाली प्रकारले पहल गर्दै आवश्यकताअनुसार त्यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने, संयुक्त राष्ट्रसङ्घ वा अन्तर्राष्ट्रिय अदालतमा लैजाने तथा नेपालको मु्द्दाको पक्षमा विश्व जनमत तयार पार्न सरकारले पहल गर्ने आशा पनि व्यक्त गर्नुभएको छ ।
उद्योग व्यापार महासंघद्धारा पनि नयाँं नक्साको स्वागत
राष्ट्रिय उद्योग व्यापार महासंघले नेपाल सरकारले लिपुलेकसहितको नेपालको नयाँं नक्सा तयार पारेका भन्दै सरकारको कदमको स्वागत गरेको छ ।
महासंघका अध्यक्ष शिव कट्टेल र महासचिव कमल बरालले मंगलबार संयुक्त विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारको यस कदमका लागि धन्यवाद ज्ञापन समेत गरेको छ । अब नेपाली जनताले विश्वसामु आफ्नो देशको आधिकारिक नक्सा तत्काल प्रकाशित गरी सबैले प्राप्त गर्नेमा महासंघले विश्वास पनि व्यक्त गरेको छ ।
हाल संसद चलिरहेकोले नेपालको संविधान संशोधन गरी लिम्पियाधुरा समेत नेपालको सम्पूर्ण भूभाग समेटिएको नेपालको नयाँ नक्सा तुरुन्त संविधानमा उल्लेख गरी सोहि अनुसार नेपालको निशाना छाप र सांसद र मन्त्रीले प्रयोग गर्ने लोगोमा भएको नेपालको नक्सा समेत अबिलम्ब सच्याउन, तत्काल बिषय बिज्ञहरु, राजनीतिक दल र सरोकारवालाहरुसंग छलफल गरी अन्तर्राष्ट्रिय सीमा सम्बन्धमा राज्यको औपचारिक धारणा बनाउन, सुगौली सन्धि अनुसार नेपालको पश्चिमोत्तर सीमाना माहाकाली नदी भएको र माहाकालीको उद्गमस्थल लिम्पियाधुरा भएकोले सर्बसम्मतिबाट लिम्पियाधुरालाई त्रीदेशीय बिन्दु कायम गरी आफ्नो सीमा सुरक्षा गर्न समेत महासंघले सुझाब दिएको छ ।-न्यूज२४