भाे कमरीकाे च पेटामा रहेका गन्दर्भ भन्छन्- राहतले किन बाटो भुल्यो ?

विवेक राई
भाेजपुर, २५ वैशाख । रुखो रातो माटो, वरिपरि सल्लाको जङ्गल । जङ्गल बीचमा मध्यपहाडि राजमार्ग । अनि त्यसै सडकको नजिक छ- सिमान्तकृत समुदाय भनिएको गन्दर्भ वस्ती । वृद्धवृद्धाहरु मात्र देखिने यो वस्तीमा युवा गन्दर्भहरु पनि घरमै भेटिन्छन् ।

कारण हो लकडाउन । पहिला अचानक लकडाउन हुन्छ भनेर थाहा भएन । तर यस्तो हुन्छ भनेर अगाडि नै थाहा भएको भए पनि के गर्नु र, खानेकुराको जोहो गर्न सकिँदैनथियो होला ।

‘दिनभरि सारङ्गी च्यापेर गीत गाउँदै गाउँ-शहर डुल्छु । दिनभरि बजाउँदै गाएर केही पैसा हुन्छ तर ७ जनाको परिवारछौ वेलुकाको छाक मात्र टर्छ । अहिले त पूरै बन्दा भयो, गाउँ डुल्न पनि लकडाउन छ,’ आखाँभरि आँसुका फोहोरा छुटाउँदै सुनाउछन् अरुण गाउँपालिका- ७ का पुर्णबहादुर गन्दर्भले सुनाए ।

पुरानो दौरा सुरुवाल, त्यहीँमाथि फाटेर हातले आफ‌ै सियोको सहारामा रातो धागोले सिलाएर लगाएको दौराको फेरोले आँसु पुछ्दै उनी भन्छन्, ‘भूकम्पमा ढलेकाे घर त सरकारले बनाईदियो, आश्रय त भयो । तर यी केटाकेटी र आफ्नै पापी पेट पाल्नै गाह्रो भयो । रुखो ठाउँ छ, उव्जाउ हुँदैन । हामी गरिब-दुखीलाई नै सबथोक आइपर्दो रहेछ । पोहोर साल फौजी किराले मकै फलेन ८/१० पाथी फल्यो । कुखुरालाई चारो दिँदै सकियो ।’

उनले चुनावको वेला मरिहत्ते गर्दै भोट माग्न आउने जनप्रतिनिधिँसँग राहत माग्न जाने विचार गरेकाे तर लकडाउनमा प्रहरीले हिँड्न नदिएकाे गुनासाे गरे । राहत लिएर उनकाे वस्तीमा काेही पनि अाएन । थोरै भएको हात्तीछाप चामलको फारोतिनाे गरी खोले बनाएर जहानकाे भाेक थेगिरहेका छन् ।

गाउँ-छिमेकमा गाउँपालिकाले राहत बाँडेको सुनेपछि पुर्णबहादुरमा पनि ठुलो आशा पलाएकाे थियो, गाउँका जनप्रतिनिधि अर्थात् स्थानीय सरकारले उनलाई पनि राहत दिन्छ कि भनेर । तर आशा गर्दागर्दै निराशा मात्र हात लाग्याे, उनले राहत पाएनन् ।

उनी भन्छन्, ‘नेतालाई जनताको आवश्यकता त चुनावको बेला मात्रै हुँदो रहेछ । अहिले यो भोकमारीमा कोही छैनन् ।’ यति सुनाइरहँदा गहभरि जमेका आँसु आँखा झिमिक्कझिमिक्क गर्दै लुकाउन खोज्छन् तर वगेर निस्कसक्छ ।

पूर्णबहादुरका छिमेकी सुवास गन्दर्भको पनि हालत उस्तै छ । वेदना पनि उस्तै कारुणिक छ । आफ्नो पुर्ख्यौली पेशा सारङ्गी बजाउँदै परिवारको गर्जो टार्न भोजपुरको टेम्केमैयुम गाउँपालिका पुगेका सुवास कोरोना भाइरस रोकथामका लागि सरकारले लागु गरेको लकडाउनकाे मारमा परे । लकडाउनमा गाउँघर डुल्न नहुने कुरा बुझेपछि सारङ्गी र झोला बोकेर उनी घर फर्किए ।

परिवारको छाक टार्न हिँडेका सुवास घर फर्किंदा खासै रकम पनि जम्मा गरेका रहेनछन् । ‘१२-१५ दिन गाउँ डुलेर रासनपानी किन्ने सपना थियो, बीचमै फर्किनुपर्यो । एक बाेरा चामल किन्ने पैसा बनाएछु । आउँदा माथि तामाङ साहुकोबाट उताउतै एक बोरा चामल बोकेर ल्याएँ । अझै ३-४ दिन त थेग्छ । तर त्यो सकिएपछि के खुवाउनु केटाकेटीलाई ? समस्या छ हजुर ।’ उनले दुखेसाे गरे ।

सानो बच्चा काखमा च्यापेर सुवास थप्छन्, ‘गाउँपालिकाले राहत भनेर हुने-खानेलाई नै चामल बाँड्यो अरे । तर खै हाम्रोतिर देखा परेन । कि हाम्रो र स्थानीय सरकारको पार्टी नमिलेर हो ?’

आँखामा रसाएका आँसुलाई लुकाउन खोज्दै उनले भने, ‘यही रोड हुँदै चामललगायतका खाध्यान्न बोकेका ट्रकहरु भोजपुर जान्छन् । तर यही बाटाेकिनारमा हाम्रो विजोग छ । राहत पनि हाम्राे घरमा पस्न नमान्ने के छ, कतै बाटाे भुल्याे कि ?’

उनका अनुसार जोहो गरी राखेको खानेकुरा सकिन लागेकाे छ । घरमै बसेर कोरोनाबाट त बाचिएला तर भोकमारीबाट कसरी बाँच्ने ? नेर गाह्रो भएको छ ।

निर्वाचनका बेला लाखौँ खर्च गर्दै गाडी रिजर्भ गरेर गाउँ ल्याउने, भोट माग्दा हात जोडेर घरघर आउने मानसिकता बोकेर सरकारमा बसेका जनप्रतिनिधिहरु अहिले गाह्राेमा चाहिँ पीडितकाे व्यथा देख्दैनन् । उनीहरूले अप्ठ्यारो परिस्थितिमा भने जनतालाई बेवास्ता गर्ने गरेकाे र राहत वितरणमा पनि राजनीति गरेर विभेद निम्त्याएकाे गुनासो जताततै सुनिन्छ । यसैकाे मारमा यहाँका गन्दर्भहरू पनि परेका छन् ।-न्यूज२४

6 Comments

Leave a Reply

Your email address will not be published.