ना का खुलेको सू चना पाएर आएका नेपाली ४ दिनदेखि क ल्भर्टमा

भगीरथ अवस्थी,बैतडी : बाजुराका आठ नेपाली नागरिक भारतीय सीमा झुलाघाटमा अलपत्र परेका छन् । उनहिरु भारतको लुवाघाटमा काम गर्दै आएका थिए। वैशाख १८ गते सीमा नाका खुलेको सूचना पाएपछि उनीहरु लुवाघाट हिडेर वैशाख १९ गते मात्रै झुलाघाट आइपुगेका थिए।

भारतमा समेत लकडाउन भएको र आफूहरुसँग पैसा नभएकाले सडकको कल्भर्टमा बसेर दिनरात बिताउनु परेको मनबहादुर बोहराले बताए। ‘हामी सीमा नाका खुला हुन्छ भनेर लुवाघाटबाट आयौं । गाडी नपाउँदा हिडेरै आउँदा ढिलो भयो।’ मनबहादुरले भने। आफूहरु आउँदा नेपाल छिर्ने नाका बन्द भइसकेको र कतै ठाउँ नपाएपछि सडकको कल्भर्टमा बास बसिरहेको उनले बताए।

एक महिनादेखि कामविहीन भएर बसेका उनीहरुसँग खर्चको पनि अभाव छ । चाउचाउ बिस्कुट खाएर छाक टारिरहेको बाजुराको बुढीनन्द नगरपालिका–९ का रमेश रोकायाले जानकारी दिए । रोकायाले भने–‘आठै जनासँग पैसा पनि छैन् अलि भएको पैसाले बिस्कुट र चाउचाउ किनेर खाइरहेका छौं।’कल्भर्टमा भुइमै बसेर रात कटाइरहेको, लामखुट्टेले टोकेर हैरान बनाएको र भोकभोकै भएकाले उद्धारका लागि उनीहरुले सरकारसँग माग गरेका छन् ।

८ नेपाली कल्भर्टमा बस्न बाध्य भएको थाहा पाएपछि स्थानीय प्रशासनसँग समन्वय गरी व्यवस्थापनका लागि पहल गरिरहेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले बताए । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले यस विषयमा आफूलाई जानकारी प्राप्त भएको र भारतको पिथौरागढ जिल्लाका डिएमसँग सम्पर्क गर्ने प्रयास भइरहेको जानकारी दिए । व्यवस्थापनका लागि पहल भइरहेको प्रजिअ पौडेलले बताए।

अलपत्र परेका नेपालीहरुले भारतीय क्वारेन्टाइनमै भएपनि बसोबासका व्यवस्था मिलाईदिन आग्रह गरेका छन् । ‘हामी पुस महिनामा कामका लागि लुवाघाट गएका हौं। त्यहाँ पनि एक महिना बिना काम बस्नुपर्‍यो।’ बुढीनन्द नगरपालिका–८ का धनबहादुर बुढाले भने–‘नाका खुल्यो भनेर आएका थियौँ। तर यहाँ आएर झन् समस्यामा पर्‍यौँ, भारतीय क्वारेन्टाइनमै राख्ने व्यवस्था पनि गरिदिए खुसी हुन्थ्यौं।’

अलपत्र पर्नेमा बाजुराको बुढीनन्दा नगरपालिका–९ का मनबहादुर बोहरा, रमेश रोकाया, शिव रोकाया, कासी बोहरा, एकेन्द्र बोहरा, चन्द्र बोहरा, भीम बोहरा र बुढीनन्द नगरपालिका ८ का धनबहादुर बोहरा छन्।-अन्नपूर्ण पोष्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.