वामदेवलाई प्रधानमन्त्री बनाउन आजै लिखित सहमति गर्नुपर्छ – भीम रावल (भिडियो सहित)

माधव नेपालद्धारा ओलीको प्रस्ताव अस्विकार
काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष बनाउन गरेको प्रस्ताव माधव नेपालले अस्विकार गरेको जानकारी दिएका छन् ।

शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफूहरुले हिजोमात्रै अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेको र विचार परामर्श गरेको रावलले सुनाए ।

उनले भने, हामीले उहाँहरुसँग विचार विमर्श गर्दा स्थायी कमिटी बैठक बोलाउन लिखित रुपमा हस्ताक्षर गरेर बुझाएका छौं । तत्काल बैठक बोलाउन भनेका छौं । अर्को कुरा, बालुवाटारबाट हस्ताक्षर भैरहेको छ । हामीले पनि हस्ताक्षर गराउनुपर्ने हो कि के हो ? भनेर सोध्यौं ।

रावलले बरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने भनेर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको प्रस्ताव नेता नेपालले ठाडै अस्विकार गरिदिएको जानकारी दिएका छन् । उनले भने-“नेता नेपालले हामीसँग यो मेरो माग पनि होईन । चाहना पनि छैन भन्नुभएको छ । पार्टीमा हुँदै नभएको तीन वटा अध्यक्ष राखेर राम्रो हुँदैन् । र, यो कुरा मलाई मान्य हुँदैन भन्नुभयो ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावमा बरिष्ठ नेता नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहालको विरोध नभएकोले सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा दिनेबारे लिखित रुपमा लेख्ने र गौतमलाई कानूनका कुन विधि र प्रक्रियाबाट प्रधानमन्त्री बनाउने भन्नेबारे स्पष्ट रुपमा लेखिनुपर्नेबारे आफूहरुको जोड रहेको पनि उनले सुनाए । उनले भने-“प्रधानमन्त्री बनाउने भनेर प्रस्ताव ल्याउने व्यक्तिलाई यो कुरा थाहा होला । प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याएपछि हामी पनि छलफल गर्छौं भन्नुभएको छ ।”

उनले पार्टीको विधि, विधान र निर्णय मानेर अघि बढ्दा समस्याको समाधान हुने विश्वास दिलाए । रावलले पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउन र त्यहाँ बहुमत कसको छ ? भनेर प्रमाणित गरे भईगयो नि त भनेर ओली पक्षलाई सार्वजनिक चूनौतिसमेत दिएका छन् । रावलले नेकपा कुनैपनि हालतमा नफुट्ने जिकिर गरे । उनले माधव नेपाल प्रधानमन्त्री हुँदा पार्टीको केन्द्रीय कमिटीले राजीनामाको कुरा गर्दा बिना हिचकिचाहट राजीनामा दिएको पनि स्मरण गराए ।

1 Comment

Leave a Reply

Your email address will not be published.